‘नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी’

काठमाडौँ । के तपाईंले नयाँ नागरिकता बनाउनुभएको छ ? यदि त्यसो हो भने अब राष्ट्रिय परिचयपत्र बनाउन जाँदा तपाईंले झन्झट बेहोर्नुपर्ने छैन, किनकि नयाँ नागरिकता लिएका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा छुट्टै फारम भरेर लाइन बस्नुपर्दैन ।
पहिला छुट्टै फारम भरेर शुल्क पनि तिर्नुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । अब भने सहज र छिटो तरिकाले राष्ट्रिय परिचयपत्र बन्नेछ । प्रि–इनरोलमेन्ट फारम नभरीकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्र लिन सकिने भएको हो ।
नेपाल सरकारको डिजिटल सुशासन र प्रशासनिक सरलीकरण अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट उद्घाटन गर्दै अब ७७ वटै जिल्लाबाट प्रि–इनरोलमेन्ट फारम नभरीकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिई परिचयपत्र प्राप्त गर्न सकिने छ । उक्त सेवाको आज एक विशेष कार्यक्रमबीच गृहमन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गरे ।
वर्षौँदेखि हुन नसकेको र सेवा प्रवाहमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भरी समय खर्चिनुपर्ने अवस्थालाई हटाउँदै सेवा प्रवाहलाई सरल र सहज बनाइएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी र सान्दर्भिक हुने बताए । उनले परिवर्तनशील प्रणालीलाई डिजिटल सुशासनको मानक भएको उल्लेख गरे ।
गृहमन्त्री अर्यालले यो पहल डिजिटल सुशासन सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह सुधार तथा एकीकृत डिजिटल परिचय प्रणाली प्रवर्द्धनतर्फ सरकारको महत्वपूर्ण कदम भएको बताए । नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नागरिकले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन पूर्व–दर्ता फाराम भर्नु नपर्ने भएको छ । यसले सेवा प्रवाहलाई सरल, छरितो तथा नागरिकमैत्री बनाएको उनको भनाइ छ ।
यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआइडीएमआईएस) बीच एपीआईमार्फत गरिएको अन्तरआवद्धताबाट सम्भव भएको हो । नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित कार्यालय वा विवरण दर्ता केन्द्रमा नागरिकता नम्बर प्रविष्ट गरेपछि विवरण स्वतः प्रणालीमा जानेछ र औँठाछाप, आँखा (आइरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण सङ्कलन गरी दर्ता प्रक्रिया पूरा गरिनेछ ।
देशभर दैनिक करिब आठदेखि नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई ध्यानमा राख्दै यस प्रणालीमार्फत ठूलो सङ्ख्यामा नागरिकले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा पाउनेछन् । यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई परिचयपत्र हस्तान्तरण गरिएको छ । गृहमन्त्री अर्यालले सो परिचयपत्र हस्तान्तरण गरे । यस प्रणाली लागू हुनुअघि नागरिकता प्राप्त गरिसकेका नागरिकले भने विद्यमान अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र दर्ता गर्न सक्नेछन् ।








