अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी

काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ ।

विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्ने सेवालाई अनलाइन प्रणालीमार्फत झन्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जनाएको छ ।

साथै, पदयात्रा अनुमतिसम्बन्धी कुनै कठिनाइ भएमा सहजीकरणका लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर +९७७ ९७६१४२३६३६ को व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई अनुमति नदिइँदा एक्लै पदयात्रा गर्न चाहनेले अनिवार्य रूपमा साझेदार खोज्नुपर्ने अवस्था रहेको र यसले असहजता सिर्जना गरेको भन्दै पर्यटन क्षेत्रबाट गुनासो आएको थियो । त्यसलाई ध्यानमा राख्दै अब एकल पदयात्रीलाई पनि अनुमति दिने गरी चैत ८ गते विभागीय निर्णय भएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

यसरी पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, सँगै जाने ट्रेकिङ गाइड तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धारको जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी शर्त निर्धारण गरिएको छ ।

साथै, ठूलो समूहमा निषेधित क्षेत्रमा पदयात्रा गर्दा सुरक्षामा ध्यान दिन कठिन हुने भएकाले एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात पदयात्री रहने गरी अनुमति प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =