नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन पाउने, तीन दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउने भएका छन् । यसका लागि कुन भाषामा शपथ लिने भन्नेबारे कम्तीमा तीन दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गतेका लागि तय गरिएको छ । त्यसअघि जेष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनेछन् । त्यसपछि उनै जेष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

शपथ सम्बन्धी ऐन, २०७९ को दफा ५ अनुसार शपथ सामान्यतया सरकारी कामकाजको नेपाली भाषामा लिनुपर्ने व्यवस्था छ । तर, सोही ऐनले सार्वजनिक पदधारण गर्ने व्यक्तिलाई आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने अधिकार दिएको छ ।

मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो भाषामा अनुवाद गरी स्वयं प्रमाणित गरेर शपथ गराउने पदाधिकारीसमक्ष शपथअघि पेश गर्नुपर्नेछ । साथै, शपथ लिएको दस्तावेजको दुई प्रति हस्ताक्षर गरी बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यस्तै, शपथका क्रममा सांसदहरूले आफ्नो पहिचान झल्किने पोशाक लगाउन पाउनेछन् । ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था रहे पनि आफ्नो संस्कृति, परम्परा र पहिचान झल्किने मर्यादित भेषभूषामा शपथ लिन सकिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =