महावीर पुनको पोस्टप्रति पद्मा अर्यालको आपत्ति, भ्रामक सामग्री प्रचार नगर्न आग्रह

काठमाडौँ । नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले स्वतन्त्र सांसल महावीर पुनप्रति सामाजिक सञ्जाल स्टाटसमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।
नयाँ संसदमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सुधार र भ्रामक सूचनाको नियन्त्रणका विषयमा सहकार्य गर्ने अपेक्षा राखे पनि पुनले हालै सार्वजनिक गरेको पोस्टले आफूलाई निराश बनाएको अर्यालले उल्लेख गरेकी छन् ।
अर्यालका अनुसार राजनीतिक तथा वैचारिक रूपमा मतभेद भए पनि मिडियाको हवाला दिने कुनै पार्टीको मुखपत्रजस्तो फेसबुक पेजमा राखिएको मनगढन्ते सामग्रीलाई आधार बनाएर अनर्गल टिप्पणी गर्नु शोभनीय नभएको उनले बताएकी छन् ।
उनले यस्तो किसिमका गतिविधिले द्वेष फैलाउने खतरा रहने भन्दै संवेदनशील बन्नुपर्नेमा जोड दिएकी छन् । ‘मैले नबोलेको विषयलाई नियोजित रूपमा प्रस्तुत गरिएको सामग्रीलाई जिम्मेवार व्यक्तिले मूल्यांकन नगरी प्रचार गर्नु चिन्ताजनक हो,’ अर्यालले उल्लेख गरेकी छन् ।
अर्यालले भ्रामक सूचनाको प्रभावबारे सचेत गराउँदै यस्ता गतिविधि अन्त्य गर्न सबैको ध्यान जानुपर्ने बताएकी छन् । साथै, प्रस्तुत विषयको सत्यता निष्पक्ष रूपमा मूल्यांकन हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।









