प्रचण्डले मागे ‘घण्टी’मा भोट हाल्ने सदस्यहरूको सूची, आँखा चिम्लिएर कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत फागुन २१ को निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने र विपक्षी दललाई मतदान गर्ने नेता-कार्यकर्तामाथि निर्मम कारबाही गर्ने चेतावनी दिएका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जनवर्गीय सङ्गठनका नेताहरूलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र मौलाएको अन्तर्घात र विग्रहप्रति कडा आक्रोश व्यक्त गरेका हुन् ।

निर्वाचनको परिणाम अपेक्षाभन्दा निकै कमजोर आएपछि पार्टीभित्र तीव्र समीक्षा भइरहेका बेला प्रचण्डले ‘शुद्धीकरण’ को अभियान केन्द्रीय समितिबाटै सुरु हुने घोषणा गरे । ‘केन्द्रीय सदस्यहरू नै घण्टी (रास्वपा) तिर लागेको भन्ने जनरल रिपोर्ट आएको छ,’ प्रचण्डले भने, ‘को-को आफ्नो क्षेत्रमा गएनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको ठोस प्रमाणसहितको रिपोर्ट ल्याउनुहोस् । त्यस्ता व्यक्तिलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ ।’

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको अप्रत्याशित नतिजालाई प्रचण्डले ‘हावाहुरी’ को संज्ञा दिए । उनले रास्वपाबाट निर्वाचित भएका महिला र समावेशी प्रतिनिधिहरू अन्ततः माओवादी जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाकै जगमा आएको दाबी गरे । ‘हामीले लडेर महिला, दलित र सीमान्तकृ

तको प्रतिनिधित्व सुनिश्चित नगरेको भए रास्वपाले ती अनुहार कहाँबाट ल्याउँथ्यो ?’ प्रचण्डको प्रश्न थियो, ‘त्यसैले वैचारिक र राजनीतिक रूपमा हामीले जितेका छौँ, पराजित हुनुपर्ने वा निराश हुनुपर्ने कुनै कारण छैन ।’

निर्वाचनमा पराजयको कारण विकास नहुनु वा पैसाको अभाव हुनु मात्र नभएको प्रचण्डको तर्क छ । उनले अर्बपति विनोद चौधरीको पराजय र भक्तपुरमा नारायणमान बिजुक्छेको विरासत ढल्नुलाई उदाहरणका रूपमा प्रस्तुत गरे । ‘विनोड चौधरीसँग पैसा र विकास दुवै थियो, तैपनि हारे । भक्तपुरमा वर्षौँदेखिको सङ्गठन थियो, तर आँधीहुरीले बढारिदियो,’ प्रचण्डले विश्लेषण गरे, ‘यसको अर्थ विकास र पैसा सहायक हुन्, मुख्य कुरा त विचार, राजनीति र जनतासँगको निरन्तर सङ्घर्ष रहेछ ।’

प्रचण्डले अब पार्टीलाई चुस्त-दुरुस्त बनाउन तल्लो तहदेखि नै अधिवेशन र सम्मेलनमार्फत निर्वाचित कमिटी बनाउने उद्घोष गरे । अनावश्यक रूपमा भद्दा कमिटी बनाउने परम्पराको अन्त्य गर्दै काम गर्ने र नगर्ने नेताबीचको अन्तर स्पष्ट गरिने उनको भनाइ छ । ‘अरू बेला पार्टीको पद ओगट्ने तर निर्वाचनका बेला अन्तै लाग्नेहरूलाई पार्टीमा राखिरहनुको कुनै अर्थ छैन,’ उनले कडा शब्दमा भने ।

फागुन २१ को निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ केवल ८ सिटमा चित्त बुझाउनुपरेको थियो, जबकि रास्वपा १२५ सिटसहित पहिलो दल बनेको थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरू पराजित भएपछि पार्टीभित्र नेतृत्वको कार्यशैली र अन्तर्घातबारे ठुलो बहस सुरु भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =