मौलिक पहिचानसहित सिंहदरबार छिर्दै नयाँ सांसद, यस्तो छ शपथको तयारी

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरेको छ । सचिवालयले एक विशेष सूचना जारी गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बिहीबार दिउँसो २:०० बजे सिंहदरबारमा उपस्थित हुन आह्वान गरेको हो ।

सचिवालयका अनुसार शपथ ग्रहण समारोह सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ । कार्यक्रमको मर्यादा र व्यवस्थापनलाई मध्यनजर गर्दै निर्वाचित सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै कार्यक्रमस्थलमा आइपुग्न अनुरोध गरिएको छ ।

सचिवालयले सांसदहरूलाई शपथ ग्रहणका क्रममा औपचारिक पोसाक वा आ-आफ्नो सांस्कृतिक एवं जातीय पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरेको छ । यसले संसद्मा नेपालको बहुसांस्कृतिक र बहुभाषिक विविधताको प्रतिविम्ब देखिने विश्वास लिइएको छ ।

नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि सचिवालयले विशेष व्यवस्था मिलाएको छ । यसका लागि इच्छुक सदस्यले शपथको ब्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रम हुनुभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सचिवालयको आधिकारिक इमेलमा उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

शपथका लागि आउँदा सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको तस्बिर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको यस सूचनालाई देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निर्वाचित सदस्यहरूसम्म पुर्‍याउन समेत समन्वय गरिएको छ । संसद्को नयाँ कार्यकालको सुरुवातसँगै हुन लागेको यो शपथ ग्रहणलाई भव्य र व्यवस्थित बनाउने तयारीमा सचिवालय जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =