लारिजानीको हत्यापछि इरान आक्रोशित : ‘सही समयमा निर्णायक बदला लिइने’ चेतावनी

काठमाडौं । इजरायली हवाई आक्रमणमा आफ्ना उच्च अधिकारी अली लारिजानी मारिएपछि इरानले कडा प्रतिरोधको चेतावनी दिएको छ । इरानी सेनाका प्रमुख अमीर हातामीले लारिजानीको हत्याको ‘निर्णायक’ बदला लिने उद्घोष गर्दै इजरायलले आफ्नो कर्ममा पछुतो मान्नुपर्ने बताएका छन् ।
मंगलबार इरानको ‘सुप्रिम नेशनल सिक्योरिटी काउन्सिल’ का सचिव लारिजानीको मृत्यु भएको इरान सरकारले आधिकारिक रूपमा पुष्टि गरेको हो । यसअघि नै इजरायलले हवाई आक्रमणमार्फत लारिजानीलाई निशाना बनाएको दाबी गरेको थियो ।
सेना प्रमुख हातामीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासन (इजरायल) लाई सही समय र उपयुक्त स्थानमा यस्तो कडा जवाफ दिइनेछ, जुन विश्वका लागि एउटा पाठ बन्नेछ ।’
यसैबीच, इरानको शक्तिशाली सैन्य दस्ता रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) ले लारिजानीको हत्याको प्रतिशोध स्वरूप मध्य इजरायलका विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको छ । इरानी सेनाभित्र एक स्वायत्त र विशिष्ट संगठनको रूपमा रहेको आईआरजीसीले यस आक्रमणको जिम्मेवारी लिँदै थप कारबाहीको संकेत समेत गरेको छ ।
लारिजानीको मृत्युले मध्यपूर्वमा तनाव थप उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । इरानले यस घटनालाई आफ्नो सार्वभौमिकतामाथिको प्रहार भन्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत विरोध जनाउने तयारी गरेको बुझिएको छ ।








