खोसियो सेनेगलको उपाधि, मोरक्को बन्यो नयाँ च्याम्पियन

काठमाडौं । अफ्रिकी फुटबलको सर्वोच्च निकायले एक अभूतपूर्व र विवादास्पद निर्णय गर्दै सन् २०२५ को ‘अफ्रिका कप अफ नेसन्स’ को उपाधि मोरक्कोलाई सुम्पिएको छ । मैदानमा खेल जितेर उत्सव मनाइसकेको सेनेगलबाट उपाधि खोसेर मोरक्कोलाई दिने निर्णयले विश्व फुटबल जगतमा हलचल पैदा गरेको छ । गत जनवरी १८ मा भएको फाइनल भिडन्तमा देखिएको एउटा प्राविधिक गल्ती र अनुशासनको विषयलाई आधार मान्दै महासंघले यो ऐतिहासिक फैसला सुनाएको हो ।
निर्धारित समयको अन्तिम क्षणसम्म दुवै टोली गोलरहित बराबरीमा थिए । खेलको इन्जुरी समयमा रेफ्रीले मोरक्कोको पक्षमा पेनाल्टी दिने निर्णय गरेपछि विवादको बिजारोपण भएको थियो । सो निर्णयप्रति असहमति जनाउँदै सेनेगलका खेलाडी र प्रशिक्षकले विरोध स्वरूप मैदान छाडेर बाहिरिएका थिए । करिब १७ मिनेटसम्म खेल अवरुद्ध भयो । अन्ततः सेनेगलका खेलाडीहरू मैदान फर्किए । मोरक्कोका ब्राहिम डियाजले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन । त्यसपछिको अतिरिक्त समयमा सेनेगलका पापे ग्वेले निर्णायक गोल गरेपछि टोली १-० ले विजयी भएको थियो । जितपछि सेनेगलले भव्य ट्रफी उचाल्दै देशभर विजयोत्सव समेत मनाइसकेको छ ।
मोरक्को फुटबल संघले हार स्वीकार नगरी नियमको आधारमा नतिजा सच्याउन अपील गरेको थियो । अफ्रिकी फुटबल महासंघको अनुशासन नियमावलीको धारा ८२ र ८४ मा स्पष्ट व्यवस्था छ कि- ‘यदि कुनै टोलीले रेफ्रीको अनुमतिबिना खेल नसकिँदै मैदान छाड्छ भने, उसलाई स्वतः पराजित मानिनेछ ।’ नियमअनुसार खेलको बिचैमा मैदान त्याग गर्ने टोलीलाई प्रतियोगिताबाट निष्कासन गर्दै विपक्षी टोलीलाई ३-० को नतिजासहित विजयी घोषित गरिन्छ । यही नियमलाई टेक्दै महासंघले सेनेगलको जितलाई बदर गरिदिएको हो ।
मोरक्को फुटबल संघले यो निर्णय खेल भावनाविपरीत नभई नियमको पूर्ण पालना भएको दाबी गरेको छ । यता, सेनेगलले आधिकारिक धारणा सार्वजनिक नगरे पनि सामाजिक सञ्जालमार्फत आफूहरू नै वास्तविक विजेता भएको दाबी गरिरहेको छ । यसैबीच, च्याम्पियन घोषित भए पनि मोरक्कोले आफ्ना मुख्य प्रशिक्षक वालिद रेग्रागुईलाई पदमुक्त गरेको छ । विश्वकप सुरु हुन मात्र ४ महिना बाँकी छँदा चालिएको यो कदमलाई खेल वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । यो निर्णयसँगै अब फुटबल इतिहासको दस्तावेजमा सन् २०२५ को अफ्रिकन च्याम्पियनका रूपमा सेनेगलको स्थान मोरक्कोले ओगटेको छ ।








