रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । ऐतिहासिक जनमतसहित देशको ठुलो राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान १० बजेका लागि तय गरिएको यस बैठकले पार्टीको आगामी संसदीय भूमिका र नेतृत्वका विषयमा महत्त्वपूर्ण निर्णयहरू लिने बुझिएको छ ।
यसअघि शनिबार नै बस्ने भनिएको यो बैठक पार्टी सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि सारिएको थियो । सभापति लामिछाने अस्वस्थ भएपछि शीर्ष नेताहरूको छलफल एक दिन ढिलो गरी सुरु हुन लागेको हो ।
आजको बैठकका मुख्य दुईवटा एजेन्डाहरू रहेका छन् । पहिलो, प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली सिफारिस गर्ने । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाउन आजसम्मको अन्तिम समयसीमा तोकेकाले रास्वपाले आजै आफ्नो तर्फबाट नामहरू टुङ्गो लगाउनुपर्ने दबाब छ । रास्वपाले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा ५७ सिट पाउने निश्चित भएको छ ।
दोस्रो महत्त्वपूर्ण एजेन्डाका रूपमा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रियाका बारेमा छलफल हुनेछ । प्रत्यक्षतर्फ १८२ सिटमा सानदार जित हासिल गरेको रास्वपाले शाहलाई नै संसदीय मोर्चाको कमान्ड सुम्पिने तयारी गरेको छ । यसका लागि आवश्यक कानुनी र विधानगत प्रक्रियाका बारेमा आजको बैठकमा सघन परामर्श हुने बताइएको छ ।








