नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको भन्दै जलविद्युत, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् ।

विश्वभर भइरहेका द्वन्द्व र कोभिड–१९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने बताए । विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उनले स्पष्ट पारे ।

नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासंघले सहकार्य गरेर एउटा प्रोजेक्ट अगाडि बढाइसकेको जानकारी दिँदै उनले संस्थागत लगानीमा जोड दिए । मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको ढकालको भनाइ छ ।

महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी ९एफडीआई० भित्र्याउन थुप्रै कानुनहरू परिमार्जन भइरहेको उनले जानकारी दिए । बाँकी रहेका नीतिगत झन्झटहरू हटाउन निजी क्षेत्र एनआरएनएसँग मिलेर सरकारसँग लबिङ गर्न तयार रहेको पनि उनले प्रतिबद्धता जनाए ।

उनले भने ‘अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो । म आफैँ एक उद्यमी र निजी क्षेत्रको छाता सङ्गठनको अध्यक्षको हैसियतले भन्छु– नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।’

नेपालमा पुँजी छैन र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासङ्घ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड ९एनडीपी०’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको बताए । विदेशमा रहेका नेपालीहरूलाई आफ्नो कमाइको केही अंश नेपालको जलविद्युत, पर्यटन, आइटी, खानी तथा खनिज र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।

साथै, एनआरएनहरूसँग कुनै नयाँ ‘इनोभेसन’ वा प्रोजेक्ट भएमा त्यसमा एनडीपी कम्पनीले ‘इक्विटी’को रूपमा लगानी गरिदिने घोषणासमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =