१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छ: उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ सङ्कल्पको अभाव रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उनले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।

उनले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गरे । उनले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताए । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिब १०० बिलियन डलर पुग्न लागिसकेको उनको भनाई छ ।

हाल ८० लाख नेपालीहरू बाहिर रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उनले बताए । नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उनको भनाई छ । उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्त्वपूर्ण हुने पनि बताए ।

सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न उहाँले गैरआवसीय नेपालीहरूलाई आह्वान गरे । उनले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिए । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उनको भनाई छ ।

उनले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरूलाई बेवास्ता गरेको पनि गुनासो गरे । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न नसक्ने उनको भनाई छ ।

उनले भने ‘हामीले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक, मानसिक रूपमा नेपाललाई समृद्ध बनाउने क्षमता राखेका नेपालीहरू हौँ । हामीबीचमा एउटै कुराको अभाव छ, सङ्कल्पको । त्यो संकल्प गरेमा छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ । २००३ मा ३० लाख नेपालीहरू बाहिर थिए, आज ८० लाख नेपाली बाहिर छन् । त्यो बेलामा ५ बिलियनको रेमिट्यान्सका कुरा गर्दा आज २० बिलियनका रेमिट्यान्सका कुरा गरिरहेका छौँ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर भएको छ । १० वर्षमा १०० बिलियनको ईकोनोमी बनाउने कुरा गरिरहेका छौँ, आजै यदि नेपाल बाहिर र भित्रको जोड्ने हो भने झन्डै १०० बिलियन पुग्न लागेका छौँ । हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौ रु म गैरआवसीय नेपाली मित्रहरूलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौँ, सबै राम्रो भएको भए तपाई हाम्रो के आवश्यकता पर्ने थियो र रु जुन बेलामा देश अप्ठ्यारोमा छ, नियम कानुनहरू अप्ठ्यारा छन्, त्यस्ता बेला तपाई हामी आएर नेपाल बनाउने अभियान अगाडी बढाउनुपर्छ । आज नेपालीहरू विदेशी लगानीको कुरा गर्छौँ । जबसम्म गैरआवासीय नेपालीका लगानी आउँदैनन् । नेपालभित्रै रहेका लगानीकर्ताहरूको लगानी राम्ररी अगाडी बढ्दैनन्, अरू विदेशी लगानीकर्ताको लगानी त्यतिकै लाउँदैनन् । पहिला यहाँका निजी क्षेत्रले गैरआवासीय नेपाली संघलाईसँगै लिएर हिँड्ने गरेका थिए, तर अहिले यहाँका निजी क्षेत्रले लगानीका विभिन्न कार्यक्रमहरू गरेका हुन्छन्, तर गैरआवसीय नेपालाई अहिले छाडिदिनुभएको छ । केही व्यक्तिहरूको मतभेदलाई लिएर संस्थालाई भेदभाव नगर्नु नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर अगाडी बढेमा यो देश छिटो अगाडी बढ्छ ।’

उनले गैरआवसीय नेपालीहरूलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गरे । देश बनाउने दायित्व सबैको भएको उल्लेख गर्दै उनले नेपालमा आएर योगदान गर्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =