सामान्य विधेयकलाई रोक्दैनौ: राष्ट्रियसभा सदस्य शाही

काठमाडौँ । राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयक तथा ऐनहरूलाई राष्ट्रिय सभाले नरोक्ने बताएका छन् ।
बुधवार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका बहालवाला र नवनिर्वाचित सदस्यहरूसँग भएको परिचयात्मक कार्यक्रमपश्चात् सञ्चारकर्मीहरुसग कुरा गर्दा उनले यस्तो बताएकी हुन् ।
उनले सामान्य विधेयक तथा ऐन निर्माणमा राष्ट्रिय सभाले प्रतिनिधि सभालाई सहयोग गर्ने बताए । संविधान संशोधनको बारेमा भने राष्ट्रिय सभा संवेदनशील बन्ने उनको भनाइ छ । राष्ट्रिय सभाको भूमिका विधेयकहरूमा गम्भीर अध्ययन गरी आवश्यक सुधारसहित सुझाव दिने रहेको स्पष्ट पारे ।
उनकाअनुसार प्रतिनिधि सभाबाट आएका विधेयक, ऐन–कानुनलाई राष्ट्रिय सभाले अध्ययन गरी कमी–कमजोरी देखिएमा सुधारका लागि राय–सल्लाहसहित पुनः प्रतिनिधि सभामा पठाउने संवैधानिक जिम्मेवारी रहेको छ । प्रतिनिधि सभाले राष्ट्रिय सभाको सुझाव ग्रहण गरेर अघि बढ्यो भने राम्रो हुने उनले बताए ।
यदि स्वीकार नगरे पनि त्यो प्रतिनिधिसभाको विशेष अधिकारको विषय भएको उनको भनाई छ । तर दुई तिहाइ बहुमत आवश्यक पर्ने विषयहरूमा राष्ट्रिय सभाले संवेदनशील भएर आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए । उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनले नेपाली जनता पुराना राजनीतिक दलहरूप्रति सन्तुष्ट नदेखिएको उल्लेख गरे । नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति समेत रहेका शाहीले कर्णाली प्रदेशमा भने नेपाली काँग्रेसले राम्रो नतिजा हासिल गरेको बताए ।
उनले भने ‘हामीबाट भएका कार्य सम्पादनबाट नेपाली जनता यसपटक त्यति सन्तुष्ट भएको जस्तो देखिएन । कारण यो या त्यो होला तर नेपाली काँग्रेस पार्टी होस् या अन्य पुराना पार्टीहरू नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टीको अहिलेको जनमत हेर्दाखेरि पुराना पार्टीहरूसँग आजको नेपाली जनता त्यति सन्तुष्ट देखिएन, त्यही असन्तुष्टको भाव व्यक्त गरेर अहिलेको प्रतिनिधि सभाको परिणाम आएको मैले बुझेको छु । राष्ट्रिय सभामा सामान्य रूपमा आएका विधेयक, ऐन कानुन आउँछन्, त्यसलाई राष्ट्रिय सभाबाट हामी विना बाधा अवरोध हामीले देखे,जानेको कुरा राष्ट्रिय सभाको काम कर्तव्य अधिकारअनुसार प्रतिनिधि सभाबाट आएका कुराहरूलाई हामीले अध्ययन गरेर केही कमी, कमजोरी छ भने सुधार गरेर आफ्नो राय सल्लाह सुझावसहित हामीले प्रतिनिधि सभामा पठाइदिने हो । प्रतिनिधि सभाले हाम्रो सल्लाह सुझावलाई ग्रहण गरेर अगाडी बढ्यो भने एउटा पक्ष हुन्छ, होइन आफूले पठाएकोमा थप आएका राय सल्लाह सुझावलाई स्वीकार गर्दैन भने त्यो उसको आफ्नो विशेष अधिकारको कुरा होला तर जहाँसम्म राष्ट्रियसभाले पनि दुई तिहाई बहुमत दिएर मात्रै हुने गर्ने कुराहरूको हकमा राष्ट्रिय सभाले संवेदनशील भएर आफ्नो भूमिका निर्वाह गर्छ ।’
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई सिट हासिल गरेर सरकार बनाउने तयारीमा छ । प्रतिनिधि सभामा बहुमत भएपनि राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक जना पनि सदस्य छैनन् । रास्वपाले संविधान संशोधनको मुद्दा उठाएको छ । प्रतिनिधि सभामा दुई तिहाई पुर्याएर संविधान संशोधन गर्ने कोशिस रास्वपाले गरेपनि राष्ट्रिय सभाले त्यसलाई रोक्ने संकेत राष्ट्रिय सभा सदस्य शाहीले गरेका हुन् ।








