सभापति थापाको हारपछि देउवा पक्ष सलबलियो, विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न

काठमाडौं । भर्खरै सम्पन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा खराब र लज्जास्पद पराजय व्यहोरेको छ । पुस अन्तिम साता काठमाडौंमा विशेष महाधिवेशन गरेर गगनकुमार थापाको नेतृत्वमा चुनावमा होमिएको कांग्रेसले अनपेक्षित नतिजा भोगेको हो ।

युवा पुस्तामा नेतृत्व हस्तान्तरण भएसँगै ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित हौसिएका कांग्रेसीहरू चुनावको नतिजापछि पूर्ण रूपमा निराश बनेका छन् । २०७४ सालको वाम गठबन्धनको लहरमा समेत प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० सिट जितेको कांग्रेस यसपालि प्रत्यक्षमा जम्मा १८ र समानुपातिकमा बढीमा २० सिटमा खुम्चिने देखिएको छ ।

विशेष महाधिवेशनबाट पार्टीको कमाण्ड सम्हालेका सभापति थापा आफैँ सर्लाही-४ बाट पराजित भएपछि नैतिक संकटमा परेका छन् । चुनावमा भोगेको यो महाविपत्तिको नैतिक जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिने र उपसभापति विश्वप्रकाश शर्मालाई कार्यवाहक सुम्पने मनस्थिति बनाएका छन् ।

उपसभापति शर्माले पार्टीको पराजयको जिम्मेवारी लिएर आफूले पद त्याग गर्नु उचित हुने गगनले बताएको जानकारी दिए । तर, शर्माले भने राजीनामाले मात्र समस्याको समाधान नहुने भन्दै थापालाई नै पार्टी पुनर्जागरणको नेतृत्व गर्न सुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितभन्दा पनि यो कांग्रेसको आफ्नै पराजय भएको र यसको सम्पूर्ण दोष एक व्यक्ति वा विशेष महाधिवेशनलाई मात्र दिन नमिल्ने शर्माले प्रष्ट पारे । राजीनामा दिएर पार्टीलाई थप संकटमा नधकेल्न शर्माले आग्रह गरेका छन् ।

चुनावी हारसँगै कांग्रेसभित्रको आन्तरिक कलह फेरि छताछुल्ल भएको छ । निवर्तमान संस्थापन (देउवा) पक्षले विशेष महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठाउँदै पार्टीमा गुमेको आफ्नो प्रभाव फर्काउने च्याँखे दाउ हेरिरहेको छ । वर्तमान कार्यसमिति विघटन गरी १५औँ महाधिवेशन आयोजक समिति बनाउनुपर्ने उनीहरूको भित्री तयारी छ ।

अर्कोतर्फ, पूर्वसभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू चुनावमा निष्क्रिय बसेको भन्दै तीव्र आलोचना भइरहेको छ । चुनावकै मुखमा सिंगापुर उडेका देउवा मतदान गर्नसमेत नफर्किएको र आफ्नै गृहप्रदेशमा समेत पार्टीको पक्षमा भोट नमागेको भन्दै उनी निकटकै नेताहरू रुष्ट बनेका छन् । यद्यपि, देउवा पक्षकै कतिपय नेताले भने गगनको विकल्प नभएको स्वीकारेका छन् । नेता श्याम घिमिरेले राजीनामा भन्दा पनि नियमित महाधिवेशनको गृहकार्यमा लाग्नुपर्ने बताए भने अर्का नेता सुनिल शर्माले शून्यबाट उठ्नुपर्ने बेला राजीनामा माग्नुलाई क्षणिक भावावेशको संज्ञा दिए ।

संसद्मा सभापति गगन थापासहित अधिकांश शीर्ष नेताहरूको अनुपस्थितिले कांग्रेस कार्यकर्तालाई थप रनभुल्लमा पारेको छ । राजनीतिक अनुभव नै नभएको रास्वपाको करिब दुई तिहाइको शक्तिशाली सरकारलाई खबरदारी गर्न संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता कसलाई बनाउने भन्ने गम्भीर प्रश्न उब्जिएको छ । महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल र एनपी साउदलगायतका हस्तीहरू चुनाव हारेर संसद्बाहिरै सीमित हुँदा सदनमा कांग्रेसको भूमिका निकै कमजोर हुने चिन्ता बढेको छ ।

यसैबीच, कांग्रेस नेता चन्द्र भण्डारीले सभापति थापालाई राजीनामा नदिन सुझाव दिएका छन् । विशेष महाधिवेशन नियमित प्रक्रिया नभएकाले राजीनामाको साटो छिटो अधिवेशनमा जानु उपयुक्त हुने उनले बताए । समस्या देखेर भाग्नुभन्दा उपचार गरेर संगठन जोगाउनु नेतृत्वको कर्तव्य भएको भण्डारीले प्रष्ट पारे ।

त्यस्तै, नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्वाकांक्षा र आवेगबाट मुक्त भएर बृहत् एकताका साथ अघि बढ्नुपर्ने बताए । चुनावी परिणामले कांग्रेसीहरूलाई गम्भीर सन्देश दिएको भन्दै विगतको निर्मम समीक्षा गरेर पार्टीको एकताका लागि निष्ठापूर्वक अगाडि बढ्नु सबैको नैतिक दायित्व भएको खड्काले बताए । आगामी वैशाखका लागि तय गरिएको १५ औं महाधिवेशनको तयारी र पार्टी पुनर्संरचनाबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =