गगनको बचाउमा गर्दै सचिनले भने- दशकको फोहोर डेढ महिनामा सफा हुन सक्दैन

काठमाडौं । निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले राजीनामा दिने तयारी गरिरहँदा उनकै पूर्व निर्वाचन क्षेत्र काठमाडौँ-४ का उम्मेदवार सचिन तिमिल्सिना बलियो बचाउमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमसँग पराजित भएका तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत एक भावुक र राजनीतिक पत्र लेख्दै हारको दोष गगनलाई नभई विगतको नेतृत्वलाई दिनुपर्ने तर्क गरेका छन् ।

गगन थापाले वर्षौँदेखि जित्दै आएको काठमाडौँ-४ छाडेर सर्लाही-४ रोजेपछि सो क्षेत्रमा कांग्रेसले युवा नेता तिमिल्सिनालाई उठाएको थियो । तर, देशभर चलेको ‘रास्वपा लहर’ मा तिमिल्सिना पनि पराजित हुन पुगे । आफ्नो पराजयका बावजुद तिमिल्सिनाले सभापति थापाको साहसको प्रशंसा गर्दै अहिलेको नतिजा एक दशकदेखि पार्टीभित्र मौलाएको विकृतिको परिणाम भएको बताएका छन् ।

तिमिल्सिनाले चुनावी घरदैलोका क्रममा मतदाताले सोधेका प्रश्नहरू गगन थापा लक्षित नभएर कांग्रेसको ‘पूर्व नेतृत्व’ (शेरबहादुर देउवा पक्ष)प्रति लक्षित रहेको दाबी गरेका छन् । ‘१ दशक लगाएर बिगारिएको पार्टीको छवि डेढ महिनामा सुधार्न सम्भव थिएन,’ तिमिल्सिनाले लेखेका छन्, ‘विशेष अधिवेशन नभएको भए हाम्रो हालत के हुन्थ्यो भन्ने हरेक सच्चा कांग्रेसीले बुझेका छन् ।’

उनले माघ १ देखि फागुन २१ सम्मको छोटो अवधिमा भएको क्रियाकलापलाई हारको कारक मान्न नसकिने स्पष्ट पारेका छन् । सत्ताको प्रलोभन त्यागेर ठूलो राजनीतिक जोखिम मोल्दै विशेष महाधिवेशन गराएकोमा उनले सभापति थापाप्रति गर्व व्यक्त गरेका छन् ।

गगन थापाले राजीनामा दिएर विश्वप्रकाश शर्मालाई कार्यवाहक सुम्पने चर्चा चलिरहेका बेला तिमिल्सिनाले गगनलाई पदमा रहिरहन र पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । उनले भनेका छन् , ‘हामी फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्‍याउन समय पुगेन , तर विशेष अधिवेशनले हामीलाई जनतामा जाने आधार भने दिएकै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =