‘बदल्यौं कांग्रेस’को नारा फेल भएपछि रक्षात्मक गगन थापा, छिट्टै केन्द्रीय कार्यसमिति बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा थापाले आफू पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामाको प्रस्ताव गरेका हुन् ।

विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गरी निर्वाचनमा होमिएका थापाले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारा अघि सारेका थिए । तर , प्रत्यक्षतर्फ जम्मा १८ सिटमा खुम्चिनु र आफू स्वयं सर्लाही-४ बाट पराजित भएपछि उनी रक्षात्मक बनेका हुन् । थापाले उपसभापति शर्मालाई कार्यवाहक जिम्मेवारी सुम्पेर पद त्याग गर्ने इच्छा राखे पनि शर्माले भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

उपसभापति शर्माले निर्वाचनको हारमा कुनै एक व्यक्ति वा विशेष महाधिवेशनको मात्र दोष नभएको तर्क गरेका छन् । ‘नयाँ कार्यसमिति बनेको ५० औं दिनमा निर्वाचन हुनु र प्रतिकूल परिस्थितिबीच परिणाम अपेक्षित नआउनुको जिम्मेवारी सामूहिक हुनुपर्छ,’ शर्माले थापालाई सुझाउँदै भनेका छन्, ‘यतिबेला राजीनामा दिएर पार्टीलाई थप अन्योलमा पार्नुभन्दा सम्हालिएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।’

थापानिकट केही नेताहरूले १५ औं महाधिवेशनबाट पुनः निर्वाचित हुने गरी अहिले राजीनामा दिन सल्लाह दिएका छन् भने अधिकांश केन्द्रीय सदस्यहरूले राजीनामाको विपक्षमा मत राखेका छन् । पार्टीभित्रको विपक्षी खेमाले भने विशेष महाधिवेशनको वैधतामाथि नै प्रश्न उठाउँदै थापामाथि नैतिक दबाब बढाएको छ ।

यसैबीच, निर्वाचनको विस्तृत समीक्षा गर्न र भावी रणनीति तय गर्न कांग्रेसले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरेको छ । सभापति थापाको स्वास्थ्यमा सुधार आएलगत्तै दुई-तीन दिनभित्र बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकले आगामी वैशाखका लागि तय गरिएको १५ औं महाधिवेशनको तयारी र पार्टी पुनर्संरचनाबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

गगन थापाको पराजयले संसद्मा एक प्रखर तार्किक आवाजको अभाव खड्किनेछ । यद्यपि, पार्टीभित्रैबाट पूर्वसभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूले निर्वाचनमा देखाएको निष्क्रियतालाई लिएर पनि तीव्र आलोचना सुरु भएको छ । डडेल्धुरा जस्तो सुरक्षित क्षेत्रमा समेत कांग्रेस पराजित हुनुले पार्टीभित्रको आन्तरिक कलह र असन्तुष्टि छताछुल्ल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =