अब बन्ने सरकारसँग सहकार्य गर्न आतुर: निजी क्षेत्र

काठमाडौँ । नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्र समेत उत्साहित देखिएको छ । पछिल्ला वर्षहरूमा कुनैपनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनको सरकार बन्ने र अनेकौँ स्वार्थले ती सरकार छोटो समयमै भङ्ग हुँदा राजनीतिक अस्थिरताको मारमा निजी क्षेत्र पर्दै आएको थियो ।
हालै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको चुनावमा दुई वर्ष अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत प्राप्त गर्ने निश्चित भएसँगै अब पाँच वर्षसम्म स्थिर सरकार बन्ने भएपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । छिटो मतगणना सकेर अब पूर्ण कार्यकालको सरकार बनाउन लागिहाल्नुपर्ने र अब बन्ने दुई तिहाइ नजिकको रास्वपा सरकारसँग मिलेर अघि बढ्न तयार रहेको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अहिले अवस्थामा असम्भव जस्तै देखिने एउटै पार्टीले दुई तिहाइ नजिक बहुमत हासिल गर्नु सामान्य कुरा नभएको बताए । उनकाअनुसार निजी क्षेत्रले बारम्बार उठाउँदै आएको स्थायी सरकारको आफूहरूको माग पूरा हुन लागेको बताए ।
अग्रवालकाअनुसार अब बन्ने सरकारका अर्थनीतिहरूको स्थायित्व हुन जरुरी छ । संविधान जारी भएयता अर्थनिजी ढुलमुल भयो । जसले गर्दा निजी क्षेत्रले ठुलो क्षति बेहोर्नुपर्यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे । अब त्यस्तो हुनु हुँदैन ।
अध्यक्ष अग्रवालले भने ‘अहिलेको अवस्थामा असम्भव जस्तै देखिने एउटै पार्टीले दुई तिहाई हासिल गर्नु भनेको ठुलो उपलब्धि हो । जुन निजी क्षेत्रले बारम्बार भनिरहेको कुरा भनेको हाम्रो आर्थिक समृद्धि नहुनुको एक प्रमुख कारण राजनीतिक अवरोध हो । त्यो समस्या करिब हल हुने भयो । निजी क्षेत्रलाई चाहिने भनेको सुरक्षाको प्रत्याभूति पनि हो । जुन जेनजी आन्दोलनको बेला निजी क्षेत्रको झन्डै ८० अर्ब सम्पत्ति क्षति भयो । त्यसले गर्दा निजी क्षेत्रको मनोबल कमजोर भइरहेको छ । अब आउने सरकारले लामोसमयसम्म निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । जसरी विदेशी लगानीकर्ताका लागि विप्पा गरिएको हुन्छ । त्यसरी निजी क्षेत्रको मनोबल उठाउन लगानी सुरक्षण नीतिहरू सरकारले लिनुपर्छ । जसले बीमाको दायरालाई समेत समेट्नुपर्छ । अर्थनीतिहरूको स्थायित्व हुन जरुरी छ । संविधान जारी भए यता अर्थनीति ढुलमुल भयो । जसले गर्दा निजी क्षेत्रले ठुलो क्षति बेहोर्नुपर्यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे ।’
उनले अब आउने सरकारले करका नीतिहरू लगानी प्रवर्द्धन गर्ने खाले हुनुपर्ने बताए ।
होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले अब बन्न लागेको दुई तिहाइको सरकारसँग सहकार्य गर्न आफूहरू आतुर रहेको बताए । उनकाअनुसार अब बन्न लागेको दुई तिहाइ नजिकको सरकारले आउँदा दिनमा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल पार्नुपर्छ । जेनजीहरुको मागलाई पूर्ण रूपमा सम्बोधन गर्नुपर्छ ।
दुई तिहाइ बहुमत नजिक प्राप्त गरेको रास्वपाले आफ्नो घोषणापत्रमै पर्यटन र होटल क्षेत्रमा धेरै कुरालाई समेटेकाले ती कुराहरू अक्षरम्स लागू गर्न लाग्नुपर्ने उनको भनाइ छ । शाहकाअनुसार अबौँ लगानीमा बनाइएका पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याएर धेरै पर्यटक भित्राउन सरकार चुकिरहेको छ । अब बन्ने सरकारले त्यसलाई पूर्ण रूपमा सञ्चालन गर्न मास्टर प्लान बनाउनुपर्छ ।
अध्यक्ष शाहले भने ‘आजको दिनमा पोखरा र भैरहवा एयरपोर्ट चलाउन मूलभूत प्रयास के भएको छ त रु सरकारी स्तरबाटै केही प्रयास भएको छैन । प्रयास हुनुप¥यो । यसमा भूराजनीतिक प्रभाव होला, अन्तर्राष्ट्रिय राष्ट्रिय कारण होला त्यो समाधान गर्दै जानुपर्छ । अब शक्तिशाली सरकार आइरहेको छ । अब त्यो सरकारले नीति तथा कार्यक्रम बनाउँदै कर्मचारीतन्त्रलाई चुस्त दुरुस्त बनाउनुपर्छ । अहिले कार्यक्रमहरू आउँछ तर कार्यान्वयन पक्ष कमजोर हुने गरेको छ, त्यसकारणले चुस्तदुरुस्त बनाउनुपर्छ । बजेट कार्यान्वयन प्रभावकारी किन भइरहेको छैन । त्यसमा ख्याल गर्नुपर्छ । काम गर्ने माइसेट नै परिवर्तन हुन जरुरी छ । अहिले पनि पञ्चायतकालको ऐन कानुनमा टेकेर काम भइरहेको छ । अब देशले के खोजिरहेको छ, त्योअनुसार हुनुपर्छ ।’
बहुमत प्राप्त सरकारले पुराना कानुनहरूमा व्यापक रिफर्म गरेर मुलुकलाई अघि बढाउन जरुरी रहेको उनको भनाइ छ । शाहकाअनुसार अहिले भन्दा दोब्बर पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले सरकारले सोही अनुसारको वातावरण बनाउन लाग्नुपर्छ ।








