महिला उद्यमीलाई विशेष सुविधा दिने काठमाडौँ महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाहरूको आर्थिक सशक्तीकरणलाई बढवा दिन घरको नक्सा पास गर्दा दस्तुरमा छुट दिने तयारी गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी नगरसभामा महिलाको नाममा नक्सा पास गर्दा दस्तुर छुट दिने प्रस्ताव पेस गरिने घोषणा गरेकी हुन् ।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘पावर इन एक्सन, हर टाइम इज नाउ’ शिर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले महिलाहरू आर्थिक रूपमा सबल नभएसम्म महिला सशक्तीकरणको कुरा नारामा मात्र सीमित हुने बताइन् ।

महानगरपालिकाले ‘एक वडा, एक नमुना कार्यक्रम’ सञ्चालन गरिरहेको समेत जानकारी दिइन् । कार्यस्थलमा हुने हिंसा न्यूनीकरण गर्न महानगरपालिका कठोर रूपमा प्रस्तुत हुने सङ्केत उनले गरिन् ।

हाल रहेका ६ वटा कानुनका अतिरिक्त कार्यस्थलमा हुने हिंसालाई विशेष जोड दिएर आगामी दिनमा नयाँ कानुन बनाइने र त्यसको कडा परिपालना गराइने डंगोलले बताइन् ।

उनले भनिन् ‘जबसम्म हामी आर्थिक रूपमा सशक्त हुन सक्दैनौँ, हामी परजीवी भइरहन्छौँ र कसै न कसैमा भर पर्नुपर्ने हुन्छ । त्यसकारण महिला उद्यमी बनाउन र भएका उद्यमीलाई प्रोत्साहन गर्न जरुरी छ । महिला उद्यमीहरूलाई विशेष सुविधा हुने गरी नीतिगत, कानुनी र संस्थागत प्रबन्ध आगामी दिनमा हामीले गर्नेछौँ ।’

महिलाहरू भविष्य मात्र नभएर वर्तमान पनि भएको बताउँदै उहाँले समाजका हरेक क्षेत्र—प्रशासन, न्यायपालिका, कानुन र कार्यपालिकामा महिलाहरूले आफैँ बाटो कोरेर अघि बढिरहेको र अरूका लागि पनि प्रेरणाको स्रोत बनिरहेको भन्दै प्रशंसा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =