शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अर्थमन्त्री खनालद्वारा आयोगको प्रशंसा

काठमाडौँ । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अनिश्चय र चुनौतीका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

मन्त्री खनाालले आइतबार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीलाई भेटी धन्यवाद प्रकट गरेका हुन् ।

निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चय र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दे उनले जटिल अवस्थामा पनि निर्वाचन आयोग कार्यतालिका भित्रै कार्य सम्पन्न गर्नेमा कटिबद्ध रहनुले निर्वाचनको सम्पूर्ण श्रेय आयोगलाई जाने बताए । उनले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे ।

निर्वाचनका क्रममा सुरक्षा संयन्त्र र सबै सरोकारवाला निकायबीचको सहकार्य प्रभावकारी रहेका कारण यस पटक कतै पनि हातपात, बुथ कब्जा वा फर्जी मत खस्ने जस्ता गतिविधि नभएको उनले बताए । अन्तर्राष्ट्रिय निकायहरूले समेत यस निर्वाचनलाई निकै शान्तिपूर्ण मानेको उल्लेख गर्दै मन्त्री खनालले कुनै पनि ठाउँमा निर्वाचन स्थगन नभई तोकिएकै दिनमा सम्पन्न हुनुलाई ठुलो उपलब्धिका रूपमा चित्रण गरे ।

उनले राजनीतिक दल र उम्मेदवारहरूले देखाएको मित्रवत् व्यवहार र स्वच्छ सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाएको बताए ।

उनले भने ‘एउटा ठुलो अनिश्चितताको वातावरण थियो । धेरै कैदीबन्दी फरार भएका छन्, हतियारहरू लुटेर लिएर गएका छन्, पुराना दलहरूमा एक किसिमको ठुलो आशङ्का व्याप्त छ, कतिपय नेताहरूलाई नै स्थान हद लगाइएको छ । राष्ट्रपतिले फागुन २१ गते निर्वाचन घोषणा गर्नुभएको छ । फागुन २१ गते नेपालमा मौसम त्यति अनुकूल हुँदैन, हिउँ पर्छ, कतिपय ठाउँमा मतदान नै गराउन सकिँदैन भन्ने प्रश्नहरू पनि उठे । कतिपयले पछि गएर होइन, त्यो बेलामा चन्द्रग्रहण लाग्छ त्यसले बर्बादै हुन्छ भन्ने कुराहरू पनि गरे । थुप्रो विवाद, थुप्रो आशङ्का, थुप्रो प्रश्न चिन्ह यो पछिल्लो ५ महिनाको कालखण्डमा निर्वाचन हुने दिनसम्म पनि कतिपय मानिसहरूले दुई दिन अगाडिसम्म पनि हुन्छ त रु सारिन्छ कि भन्ने आशङ्का गरेका थिए । तर निर्वाचन आयोगले दृढ इच्छाशक्तिका साथ जुन दिन निर्वाचनको कार्यतालिका घोषणा ग¥यो, त्यो कार्यतालिकामा कुनै पनि किसिमले सम्झौता हामी गर्दैनौँ, हामी दृढ इच्छाशक्तिले अगाडि बढ्छौँ, सरकारले हामीलाई सहयोग गर्नु¥यो भनेर उहाँहरूले आग्रह गर्नुभयो । यसपालिको निर्वाचन मुलुकको एउटा नियमित प्रकृतिको निर्वाचन थिएन । खाली एउटा सरकार बनाउनको निमित्त गरिएको निर्वाचन थिएन । यो जेन्जीको सुशासन प्रतिको, भ्रष्टाचार विरुद्धको एउटा आन्दोलनलाई एउटा टुङ्गोमा पुर्याउने खालको प्रतिनिधिसभा स्थापित गर्नको निमित्त गरिएको निर्वाचन भएको हुनाले यसमा थुप्रै जोखिमहरू पनि थिए । तर ती सबै जोखिमहरूलाई निर्वाचन आयोगले, सुरक्षा संयन्त्रले र सरकारले पनि संयुक्त रूपमा मिलेर यसरी पार लगाइयो कि निर्वाचन सम्पन्न हुँदाखेरि नेपालका विगतमा यस्तो निर्वाचन देखेका मानिसहरूले मात्रै होइन कि अन्तर्राष्ट्रिय समुदायले पनि यसपालिको निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण भयो, एउटा पनि साङ्घातिक घटनाहरू भएनन्, एकजना व्यक्तिले पनि कुनै किसिमले हातपात भएको अथवा आक्रमण भएको कुराहरूमा गुनासो गर्नु परेन । एक ठाउँमा पनि निर्वाचन स्थगित गर्नु परेन। मलाई थाहा छ यो भन्दा अगाडिको यस्तै निर्वाचनमा ५१ वटा ठाउँमा निर्वाचन स्थगित भएर पुनः मतदान गराउनुपरेको थियो। अहिले त्यस्तो स्थिति कहीँ पनि उत्पन्न भएन। यसपालि गाउँ–गाउँबाट सबै प्रायः सबै जिल्लाबाट प्राप्त सूचना के छ भन्दाखेरि अघिल्ला चुनावहरूको तुलनामा यसपालि कहीँ पनि फर्जी मत दिने अथवा बुथ कब्जा गर्ने अथवा आफ्नो पक्षमा मत दिलाउनको निमित्त अनेक दबाबहरू सिर्जना गर्ने त्यस्तो काम केही पनि भएन। उम्मेदवारहरूले पनि अत्यन्त सौहार्दपूर्ण तरिकाले एक अर्कालाई बाटोमा भेट्दा, जमघटमा रहँदा मित्रवत् व्यवहार गरे। हामीले कतिपय भिडियोमा देख्यौँ पनि, टेलिभिजनमा देख्यौँ । र एउटा स्वच्छ प्रतिस्पर्धा, लोकतन्त्रलाई बलियो बनाउनको निमित्त स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावना उम्मेदवारले, राजनीतिक दलले पनि त्यो संयमित तरिकाले अगाडि बढ्नुभयो । जुन आक्रोश सुरुवाती अवस्थामा थियो, एक पक्षले अर्को पक्षलाई देख्नै नसहने, होइन यिनीहरूलाई त उठ्नै दिनु हुँदैन भन्ने एउटा आवाज हुन्थ्यो, त्यो गएको ५ महिनाको अवधिमा शान्त हुँदै गएर एउटा स्वच्छ तरिकाले निर्वाचन गर्न थालिएको छ, सरकारले सुरक्षा एकदम बलियो बनाएको छ भन्ने भइसकेपछि अत्यन्त राम्रो ढङ्गले निर्वाचन सम्पन्न भयो। र यो सबैको एउटा साख, यसको क्रेडिट मेरो विचारमा निर्वाचन आयोगले पाउँछ ।’

गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पनि आयोगको कार्यालय पुगेर धन्यवाद दिएका छन् । त्यसैगरी नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि आयोग पुगेर शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =