मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार सक्रिय बनेको छ । परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले उक्त जानकारी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मन्त्रीस्तरीय निर्णयका आधारमा टिम गठन गरिएको स्पष्ट पारे ।
‘परराष्ट्र सचिवको नेतृत्वमा इमर्जेन्सी रेस्पोन्स टिम गठन गरिएको छ । मंगलबार परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट टिम गठन गरिएको हो,’ खड्काले भने ।
मन्त्रालयका अनुसार उक्त टिममा परराष्ट्र मन्त्रालयका साथै गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, श्रम मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका निकायका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ ।
सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गर्ने तथा आवश्यक परे उद्धार, समन्वय र सहजीकरणका कामलाई तीव्रता दिने जनाएको छ ।








