चेरी फूलका गुलाबी हाँगामा अडिएको वसन्त (तस्बिरहरू)

भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडक किनारासम्म पङ्क्तिबद्ध रूपमा फूलेका यी फूलले सहरको रूप नै फेरिदिएका छन्

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाको वातावरण यति बेला रङ्गिन र सुगन्धित बनेको छ। ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलहरूले उपत्यकालाई प्राकृतिक सौन्दर्यले ढाक्दै वसन्तलाई आत्मीय स्वागत गरिरहेको अनुभूति गराउँछन्।

भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडक किनारासम्म पङ्क्तिबद्ध रूपमा फूलेका यी फूलले सहरको रूप नै फेरिदिएका छन्। गुलाबी र सेता रङ्गमा झुलेका हाँगाहरूले व्यस्त सहरी जीवनमा केही क्षण शान्ति र आनन्द थपिरहेका छन्। जापानी भाषामा ‘साकुरा’ र अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ भनेर चिनिने यी फूल नेपाली परिवेशमा रैथाने पैँयू र आरुकै रूपमा परिचित छन्।

यी रुखमा फुल्ने फूलको सौन्दर्य केवल दृश्य आनन्दमा सीमित छैन; यसले वातावरणलाई सुगन्धित बनाउँदै मानव मात्र होइन, चराचुरुङ्गी र जीवजन्तुसमेतलाई आकर्षित गरिरहेको छ। रसिला फूल वरिपरि माहुरीहरू गुन्जिरहेका दृश्यले प्रकृति र जीवबिचको अन्तरसम्बन्धलाई झन् जीवन्त बनाएको छ।

पार्क तथा खुला चौरमा ढकमक्क फूलेका फूलमुनि यति बेला युवायुवतीहरूको चहलपहल बाक्लिएको छ। फूलसँग सेल्फी र तस्बिर खिच्दै उनीहरू वसन्तको क्षणलाई सम्झनायोग्य बनाइरहेका देखिन्छन्। केहीका लागि यो केवल फूल होइन, ऋतु परिवर्तनको उत्सव हो; केहीका लागि सामाजिक सञ्जालमा सौन्दर्य साट्ने अवसर।

यसरी वसन्तको आगमनसँगै फुलेका पैँयू र आरुका फूलहरूले काठमाडौँलाई केही समयका लागि भए पनि प्राकृतिक रङ्गले सिँगार्दै सहरको दैनिकीमा नवीन ऊर्जा भरेका छन्।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =