मध्यपूर्व तनावग्रस्त : १७ लाख नेपालीकाे सुरक्षाबारे के गर्दैछ सरकार ?

काठमाडौं । इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि अहिले मध्यपूर्व तनावग्रस्त अवस्थामा छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य संरचना लक्षित गर्दै प्रहार थालेको छ ।
जसको कारण खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा चिन्ताको विषय बनेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हाल १७ लाख २९ हजार २८८ नेपाली मध्यपूर्वका देशमा छन् । जसमध्ये इरानमा रहेका १० जनामध्ये ४ फर्किएका छन् भने ६ जना बाँकी छन् ।
यस्तै, इजरायलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा लगभग ७ लाख, लेबनानमा १५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली छन् ।
यूएई, कतार, साउदी अरब, इजरायल, कुवेतस्थित नेपाली राजदूतावासहरूले सार्वजनिक सूचना जारी गर्दै सबैलाई सचेत तथा सुरक्षित रहन अनुरोध गरेका छन् । भने, सबैको मोबाइल फोनमा ‘इमर्जेन्सी अलर्ट’ नोटिस पठाइएको छ ।
के गर्दैछ नेपाल सरकार ?
मध्यपूर्वमा बढ्दो तनावपछि नेपाल सरकारले आवश्यक तयारी अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रको वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले मध्यपूर्वमा तनाव थप बढ्न नदिन र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न अपिल समेत गरेको छ । नेपालले कुनै पनि प्रकारका मतभेद र विवादहरूलाई कूटनीति र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड समेत दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ भन्नेमा नेपाल जोड दिन्छ ।’
साथै, सरकारले खाडी मुलुकहरूमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । परराष्ट्र मन्त्री बालानन्द शर्माले विदेश जान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर अलपत्र परेका नागरिकको समस्या समाधान गरिसकेको बताए ।
ट्राभल एडभाइजरीहरू जारी भइसकेको कारण अब विमानस्थलमा यात्रु अलपत्र पर्ने समस्या हटिसकेको उनको भनाइ छ ।
‘सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपालीहरूलाई भएको असुविधामा सोही देशका राजदूतावासहरूलाई समन्वयमार्फत गन्तव्यमा पुर्याउने वा होटेलमा रहेकाहरूलाई एयरलाइन्स अथवा कम्पनीले रेखदेख गर्ने गरी समन्वय भइसकेको छ । उनीहरूको स्वास्थ्य, सुरक्षाबारे उचित व्यवस्था मिलाइसकेको छ ।’
उनले यात्रुहरूलाई तत्काल फर्काउन नसकिएको कारण जहाँ छन्, त्यही सुरक्षित रुपमा राख्नमा नेपाल सरकार लागिरहेको बताए ।








