रुपन्देही– २ मा कांग्रेस एक ढिक्का, जित निश्चित रहेको पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले रुपन्देही क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । उनले निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा मतमा उल्लेख्य वृद्धि हुँदै गएको बताएका छन् ।

पौडेलले एमाले र रास्वपाका कमजोरीहरूलाई आफ्नो जितको प्रमुख कारणका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार एमालेमा पटक–पटक एउटै र पुरानो अनुहार देखिएको छ भने विकासका धेरै काम पूरा नभएको र युवा वर्गको मागअनुसार पार्टी नचलिरहेको गुनासो बढेको छ । गत निर्वाचनमा एमालेलाई गएको मत यसपालि आफूले पाउनेमा पौडेल ढुक्क छन् ।

यस्तै, रास्वपाको सामाजिक सञ्जालमा सक्रियता भए तापनि वास्तविक मतदातालाई आकर्षित गर्ने भौतिक संगठन र स्पष्ट नेतृत्व अभाव रहेको पौडेलको बुझाई छ । रास्वपाको युवामाझ केही आकर्षण भए पनि स्थायी संगठन कमजोर भएको र परम्परागत मतदाता अन्य दलतर्फ सर्न लागेको संकेत भेटिएको उनले बताए । रास्वपाले आफ्नै मत जोगाउन नसक्ने भएकाले त्यो मत आफुले पाउने पौडेलको विश्वास छ ।

उम्मेदवार पौडेलले कांग्रेस एकढिक्का भएकाले आफु जित्नेमा कुनै शंका नरहेको बताएका छन् । कांग्रेसले पुरानो नेतृत्व हुँदाहुँदै पनि बलियो संगठनात्मक संरचना बनाएको र आफूले क्षेत्रीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएको पौडेलले बताए ।

उनले क्षेत्र नं. २ मा उद्योग, कलकारखाना, कृषि, अस्पताल तथा क्याम्पस स्थापना जस्ता विकासका कामहरू सम्पन्न गरिएको दाबी गरे । पौडेलले आर्थिक वृद्धि, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा कांग्रेसले काम गरेको हुँदा मतदाताले आफूलाई विश्वास गर्ने दाबी गरे ।

उनले आफ्नो चुनावी अभियान तीव्र बनाएर जनसम्पर्कलाई व्यापक बनाएको र आगामी निर्वाचनमा विजयी हुनेमा दाबी व्यक्त गरेका छन् । रुपन्देही क्षेत्र नं. २ मा आगामी चुनाव कडा प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =