‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ, ९ जना हिरासतमा

काठमाडौं । पर्वतारोहणका लागि नेपाल आएका विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई नियन्त्रणमा लिएको हो ।

सिआइबीका अनुसार सन्दीप तिवारीलाई मंगलबार र राजेन्द्रबहादुर सिंहलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

यससँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित स्थानीय एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी÷सञ्चालकसमेत गरी हालसम्म ९ जना पक्राउ परिसकेका छन् ।

यसअघि सिआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा.गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूमाथि राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसरी सुरु भयो अनुसन्धान

माघ ११ गते सिआइबीले पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई बिमाको रकम असुल्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने सूचना प्राप्त गरेको थियो । सोही आधारमा प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।

आरोपअनुसार पर्यटकलाई कृत्रिम रूपमा बिरामी भएको देखाएर हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पताल भर्ना गराउने र त्यसपछि बिमा दाबी गर्ने गरिएको थियो ।

यस प्रकरणमा यसअघि माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसी पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =