गृहकार्य सिकाउने बहानामा छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौं । खोटाङमा शिक्षकले विद्यार्थीमाथि गम्भीर अपराध गरेको घटना सार्वजनिक भएको छ । दिक्तेलस्थित एक बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-१ स्थायी घर भई दिक्तेल ईङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक रहेका छन् । आरोपित शिक्षकले फागुन ९ गते छात्रालाई गृहकार्य सिकाउने बहानामा आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

पीडित परिवारका अनुसार घटनापछि शिक्षकले बालिकालाई करिब तीन घण्टासम्म कोठाभित्रै थुनेर राखेका थिए । बालिका रुँदै कोठाबाट बाहिर निस्किएर अभिभावकलाई घटनाबारे जानकारी गराएपछि मात्रै घटना बाहिर आएको हो ।

आक्रोशित आफन्तले लगत्तै शिक्षकको कोठामा पुगेर उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । पीडक शिक्षकविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

ती शिक्षकको नियत पहिलेदेखि नै खराब रहेको पीडित पक्षको दाबी छ । गत मंसिरमा विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका क्रममा पनि उनले ती छात्रालाई विभिन्न बहानामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको परिवारले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =