आहा ! ओपेरा (फोटोफिचर)

सिड्नी । सिड्नी ओपेरा हाउस र हार्बर ब्रिज हेर्नु भनेको सङ्गीत, समुद्र र मानवीय सिर्जनाको सुन्दर सङ्गम देख्नु हो । यी दुई संरचना केवल इँटा र स्टिलका निर्माण होइनन्, अस्ट्रेलियाको पहिचान र गौरवका प्रतीक हुन् ।
सिड्नी ओपेरा हाउसको कथा सन् १९५० को दशकबाट सुरु हुन्छ । सन् १९५५ मा भएको अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगितामा डेनमार्कका वास्तुकार योर्न उत्जोनको अनौठो डिजाइन छनोट भयो । निर्माणमा धेरै चुनौती आए, तर इन्जिनियर ओभे अरुप र उनको टोलीले समाधान खोजे । सन् १९७३ मा महारानी एलिजाबेथ द्वितीयले यसको उद्घाटन गरिन् । आज यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
ओपेरा हाउसको छेउमै सन् १९३२ मा बनेको सिड्नी हार्बर ब्रिज छ, जसलाई स्थानीयले “कोटह्याङ्गर” पनि भन्छन् । ५२ हजार टन स्टिल प्रयोग गरी बनेको यो पुल सहरको अर्को चिनारी हो ।
साँझ पर्नासाथ सिड्नी झिलिमिली उज्यालोले भरिन्छ । समुद्रमा परेको ओपेरा हाउसको प्रतिबिम्ब र बत्तीले सिँगारिएको हार्बर ब्रिजले दृश्यलाई झन् आकर्षक बनाउँछ । जलयात्रामा बजिरहेको प्रत्यक्ष सङ्गीत, समुद्री हावा र उज्यालो सहरले यात्रालाई स्मरणीय बनाइदिन्छ ।
यो केवल बन्दरगाह घुम्ने यात्रा होइन, मनमा बसिरहने सुन्दर अनुभव हो ।
तस्बिरहरू :-









