आइपिओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल र होटल ईष्टर्न नेपालबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो “आइडिया टु आइपिओ” सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि प्राथमिक शेयर निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ ।
सोही सेवा अन्तर्गत झापाको मेचिनगर–१० मा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेड सँग प्राथमिक शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
कम्पनीको प्रबन्धपत्र तथा प्रचलित कानून बमोजिम भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने तयारी स्वरूप उक्त सम्झौता गरिएको हो । यससँगै होटल ईष्टर्न नेपाल लिमिटेडलाई पब्लिक कम्पनीको रूपमा रुपान्तरण गरी प्राथमिक शेयर जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।
होटल ईष्टर्न नेपाल लिमिटेड मेचिनगर–१०, झापामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटल हो । होटल सञ्चालनका लागि इन्टर–कन्टिनेन्टल होटल्स ग्रुप – एसिया प्यासिफिक प्राइभेट लिमिटेड अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड होलिडे इन एक्सप्रेस एण्ड सुइट्स सँग व्यवस्थापकीय सम्झौता सम्पन्न भइसकेको छ । उक्त सम्झौताअनुसार होटलको समग्र व्यवसाय विस्तार, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको होटलले २०८३ साल जेठभित्र सौम्य उद्घाटन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
होटल सञ्चालनमा आएपछि पाँचतारे स्तरका सम्पूर्ण सेवा उपलब्ध गराइनेछ । जसअन्तर्गत क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन सेवा, छतमा स्विमिङ पुल, आरामदायी तथा विलासी सुइट तथा आधुनिक कोठा, बैंक्वेट हल, बहुविध भोजनालय, छतमा रेष्टुरेन्ट, ज्याकुजी, स्पा, पूर्ण सुसज्जित स्वास्थ्य क्लब, आन्तरिक धुलाई सेवा तथा व्यावसायिक हाउसकिपिङ लगायतका सुविधा रहनेछन् ।
होटल रहेको स्थान भारतीय सीमा नाकाबाट करिब ७ किलोमिटर तथा भारतको बागडोरा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा रहेकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रदान गर्ने रणनीति बनाइएको छ । होटल ईष्टर्न नेपालले पूर्वी नेपाल मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यसैबीच, एन आई सी एशिया क्यापिटल लिमिटेड ले “आइडिया टु आइपिओ” सेवा अन्तर्गत निजी लिमिटेड कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गरी साधारण शेयर निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सकिने बताइएको छ ।








