केएनएमसीमा निःशुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर आयोजना

काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङले निःशुल्क ‘सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ । अस्पतालले विशेषज्ञ सर्जन तथा स्त्रीरोग विशेषज्ञमार्फत परामर्श र स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने जनाएको छ ।
अस्पतालका अनुसार शिविरमा शल्यसम्बन्धी पाइल्स, एनल फिस्टुला तथा फिसर, हर्निया, हाइड्रोसिल, मिर्गौला तथा पित्तथैलीको ढुंगा, डायबेटिक फुट, प्रोस्टेटलगायत समस्याको जाँच तथा परामर्श गरिनेछ ।
त्यसैगरी स्त्रीरोग अन्तर्गत महिनावारी अनियमितता, सेतो पानी बग्ने समस्या, पाठेघर झर्ने समस्या, पोस्ट–मेनोपोजल ब्लिडिङ, सन्तान नहुने समस्या, पीसीओडी तथा पाठेघरमा मासु पलाउने समस्या सम्बन्धी परीक्षण र परामर्श सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार शिविरमा सहभागी बिरामीलाई विशेष छुटसमेत प्रदान गरिनेछ । फलोअप शल्यक्रियामा ४० प्रतिशत, अल्ट्रासाउन्डमा ५० प्रतिशत र अन्य परीक्षणमा ३० प्रतिशत छुट दिइनेछ । साथै पिसाब तथा रगतमा चिनी जाँच निःशुल्क गरिनेछ ।
शिविर फागुन ९ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंस्थित अस्पताल परिसरमा सञ्चालन हुने जनाइएको छ । अस्पतालले आवश्यक परेमा अग्रिम दर्ता गर्नसमेत आग्रह गरेको छ ।










