पशुपति जाँदा कहाँ गर्ने सवारी पार्किङ ? यस्तो छ व्यवस्था

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व ‘महाशिवरात्रि’ आज देशभरका शिवालयहरूमा हर्षोल्लासका साथ मनाइँदैछ । विशेषगरी आराध्यदेव भगवान् शिवको पावन निवास मानिने पशुपतिनाथ क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भीड उर्लिएको छ ।

शिवरात्रिको मुख्य केन्द्र पशुपतिनाथ मन्दिरमा आज रातको चारै प्रहरमा विधिपूर्वक विशेष पूजा आराधना गरिँदैछ । मन्दिर परिसरमा महादीप, अखण्डदीप, लक्ष्यबत्ती प्रज्वलनका साथै दीपोत्सवको विशेष प्रबन्ध मिलाइएको छ । भगवान् शिवलाई अत्यन्त प्रिय मानिने लाखौँ बेलपत्र आज अर्पण गरिँदैछ । आध्यात्मिक वातावरणलाई थप सुमधुर बनाउन कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रमहरूमा शास्त्रीय गायन तथा नृत्यको प्रस्तुति रहने कोषले जनाएको छ ।

महादेवको दर्शन र मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत हजारौँको सङ्ख्यामा तीर्थयात्री तथा साधुसन्तहरू काठमाडौँ आइपुगेका छन् । पशुपति क्षेत्रमा देखिएको भक्तजनको यो उपस्थिति र जय शम्भोको गुञ्जायसले काठमाडौँ उपत्यका पूर्ण रूपमा शिवमय बनेको छ ।

भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा निकाय र पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था मिलाएका छन् । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन प्रहरीले विभिन्न स्थानमा पार्किङ स्थलहरू तोकेको छ ।

प्रहरीका अनुसार सिफल चौर, गुह्वेश्वरी पारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, भण्डारखाल, तीलगङ्गा आँखा अस्पताल अगाडि र वनकाली क्षेत्रमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई लाइनमा बस्ने र सुरक्षा दिने कार्यमा सयौँको सङ्ख्यामा प्रहरी र स्वयंसेवकहरू खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =