आर्थिक वृद्धिमा मात्रै अल्झियौँ, वितरण र पुनर्वितरण ओझेलमा पर्यो : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिए पनि नीतिगत बहस आर्थिक वृद्धिमा मात्र सीमित भएको बताए । उत्पादन र आर्थिक वृद्धि तात्कालिक अवस्थामा महत्त्वपूर्ण विषय भएको कारण समेत त्यससँग जोडिएका अन्य महत्त्वपूर्ण विषयमा पर्याप्त ध्यान दिन नसकिएको उनले बताए । उनले आर्थिक वृद्धिसँगै वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बनाउन नसकिएको तर्क गरे । उनले औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अङ्गीकार गरिएको पनि उल्लेख गरे ।
उनले भने, ‘हामीले ८० को दशकलाई आर्थिक सुधारको प्रथम बिन्दु मान्ने हो भने सम्भवतः पहिलो पुस्ताको सुधारको दशक पनि त्यही थियो । तर त्यतिबेलाका बहस र संवादहरू हेर्ने हो भने हामी वृद्धि (ग्रोथ) तिर मात्र अल्झियौँ । तर त्यतिबेला उत्पादन वृद्धि महत्त्वपूर्ण विषय भएको कारण हामी अल्झिनै पर्ने अवस्था पनि थियो । तर त्योसँग जोडिएका महत्त्वपूर्ण विषयवस्तुमा पर्याप्त ध्यान दिन सकेनौँ कि जस्तो लाग्छ । त्योसँग जोडिएको महत्त्वपूर्ण कुरा वितरण थियो । हामीले वितरण र पुनर्वितरणको विषयमा अहिले पनि हामी स्पष्ट भइसकेका छैनौँ । एउटा उद्योगको रूपान्तरणको परम्परागत दृष्टिकोणलाई हामीले मूलमन्त्र जस्तो मान्यौँ । कृषिबाट उद्योग, उद्योगबाट सेवा भन्यौँ । तर यो विषयमा हामीले त्यत्रो छलफल पनि गरेनौँ ।’
उनले आर्थिक सुधारको वर्षौँसम्मको बहसमा संरचनात्मक रूपान्तरण र आय वितरणको स्पष्ट खाका तयार हुन नसकेको बताए ।








