सम्भव सिरोहियाको घर तोडफोड प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको घरमा भएको तोडफोड तथा लुटपाट प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले माघ २९ गते जिल्ला अदालत काठमाडौंमा आपराधिक उपद्रव तथा चोरीसम्बन्धी कसुरमा पाँच जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका–४ बासबारीका ३५ वर्षीय सुजन डंगोल, काठमाडौं–३ का ३५ वर्षीय विवेक थापा, धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३३ वर्षीय गोपाल थापा, गोरखाको गोरखा नगरपालिका–६ का २५ वर्षीय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरपालिका–३ का ३० वर्षीय प्रज्वल रोगू रहेका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिका–४ मण्डिखाटारस्थित सिरोहियाको घरमा तोडफोड र लुटपाट भएको थियो । घटनापछि सिरोहियाले धातु, गरगहना चोरी तथा घर र सवारी साधनमा तोडफोडबाट १४ करोड रुपैयाँभन्दा बढी क्षति भएको दाबी गर्दै क्षतिपूर्ति मागसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
सिरोहियाको जाहेरीका आधारमा प्रहरीले माघ ४ गते काठमाडौंका विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सुजन डंगोलको कोठामा गरिएको खानतलासीका क्रममा ‘कान्तिपुर’ लेखिएको चाँदीका सिक्का बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनको बयानका आधारमा अन्य चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितहरूको साथबाट लुटिएका चाँदीका सिक्का र अन्य गरगहना बरामद गरिएको थियो। बयानका क्रममा पाँचै जनाले आरोप स्वीकार गरेका छन् ।
उनीहरूको बयानअनुसार भदौ २४ गते राति करिब १० बजे हिँडिरहेको अवस्थामा उक्त घर तोडफोड गरिएको र लथालिङ्ग अवस्थामा देखिएपछि आफूहरू त्यहाँ प्रवेश गरेका थिए । घर सम्भव सिरोहियाको भएको कुरा आफूहरूलाई पछि मात्र थाहा भएको उनीहरूको भनाइ छ ।
बयानमा विवेक थापा र प्रज्वल रोगू घरभित्र प्रवेश गरेको तथा बाँकी तीन जना बाहिरै बसेको उल्लेख छ । उनीहरूले घरभित्रबाट बोराभित्र रहेको टिनको बक्सा बाहिर ल्याई खाली जग्गामा खोलेर हेर्दा ‘कान्तिपुर’ लेखिएका चाँदीका सिक्का, क्यामेरा र अन्य गरगहना फेला परेको बताएका छन् । उक्त बक्सा विवेककै डेरामा राखिएको र पछि प्रहरीलाई फिर्ता गर्ने उद्देश्यले चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरुङमार्फत १८ किलो चाँदीका सिक्का महाराजगञ्ज प्रहरी वृत्तमा बुझाइएको पनि उनीहरूले बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले आरोपीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५८ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरेको छ । साथै फिर्ता गरिएको १८ किलो चाँदीको मूल्य घटाएर बाँकी हुन आउने १४ करोड २५ लाख ५८ हजार १५७ रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिलाउन मागदाबी गरिएको छ ।








