मृगस्थलीमा देखियो लोभलाग्दो वैदिक दृश्य (तस्बिरहरू)

काठमाडौं । वागमतीको कञ्चन शीतलता र आराध्यदेव पशुपतिनाथको छत्रछायाँमा अवस्थित छ नेपाल वेद विद्याश्रम । जहाँको माटोमा ऋषिमुनिहरूको तपस्याको सुगन्ध आउँछ र हावामा ऋचाहरूको प्रतिध्वनि सुनिन्छ ।

यो केवल एउटा पाठशाला मात्र होइन, यो त सनातन सभ्यताको जिउँदो इतिहास र वैदिक वाङ्मयको संरक्षण गर्ने तपोभूमि हो । हाल यहाँ चलिरहेको विशेष वैदिक यज्ञले मृगस्थलीको काखलाई स्वर्गको एउटा सानो टुक्रा झैं आभास गराएको छ । जहाँ बटुकहरूका कोमल कण्ठबाट निस्किएका मन्त्रहरूले कोलाहलपूर्ण सहरको बीचमा एक अद्वितीय शान्तिको सञ्चार गरिरहेका छन् ।

पहेँलो धोती र चन्दनको टीकामा सजिएका साना बटुकहरू आँखा चिम्लेर हातको मुद्रासहित लयबद्ध रूपमा वेद पाठ गरिरहेका छन् । शिरमा शिखा, निधारमा त्रिपुण्ड्र र कण्ठमा रुद्राक्ष । यी कलिला ओठहरूबाट जब ‘ॐ’ को गम्भीर उद्घोष हुन्छ, तब लाग्छ- साक्षात् सरस्वती यिनै बटुकहरूको जिब्रोमा सयर गरिरहेकी छिन् । वेदका जटिल ऋचाहरूलाई कण्ठस्थ पारेर उनीहरूले केवल मन्त्र होइन, विश्व ब्रह्माण्डको ऊर्जालाई नै एकाकार गरिरहेका छन् ।

यज्ञकुण्डबाट निस्किएको पवित्र धुवाँ र अग्निको लप्का, जसमा घ्यू र समिधा अर्पण गरिँदैछ । अग्निहोत्रको त्यो राप र घ्यूको सुगन्ध । प्रज्वलित अग्निदेवलाई साक्षी राखेर जब ‘स्वाहा’ को ध्वनि गुञ्जायमान हुन्छ, तब वातावरणमा रहेका सम्पूर्ण नकारात्मकताहरू भस्म भएर जान्छन् । यो अग्निको शिखा केवल भौतिक ताप होइन, यो त ज्ञानको त्यो ज्योति हो जसले अज्ञानताको अन्धकारलाई चिर्ने सामर्थ्य राख्छ ।

शंखको त्यो विजयघोष ! जसले आकाश र धर्तीको मिलन गराइरहेको भान हुन्छ । यो शंखध्वनिले मानौँ पशुपतिनाथलाई खबर गरिरहेको छ कि- तपाईंका सन्तानहरू अझै पनि आफ्नो मौलिक संस्कारको रक्षामा अहोरात्र खटिएका छन् । यो नादले हृदयको ढुकढुकीमा भक्ति र साहसको नयाँ सञ्चार गरिदिन्छ । यज्ञको कोलाहलका बीचमा पनि देखिने यो गहिरो मौनता र एकाग्रता लोभलाग्दो छ । सानै उमेरमा इन्द्रियहरूलाई बसमा राखेर आध्यात्मिक अनुशासनमा बाँधिएका यी बटुकहरू नै भोलिका संस्कृतिका संवाहक हुन् । उनीहरूको अनुहारको कान्तिले भनिरहेको छ- संस्कार बचे मात्र संसार बच्छ ।

वेदोखिलो धर्ममूलम् अर्थात् वेद नै सम्पूर्ण धर्म र ज्ञानको मूल हो । नेपाल वेद विद्याश्रममा भइरहेका यस्ता अनुष्ठानहरू केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, यी त हाम्रो मौलिक पहिचान र अस्तित्व जोगाउने महाअभियान हुन् । आधुनिकताको अन्धवेगमा रुमल्लिएको वर्तमान पुस्ताका लागि यो यज्ञशाला एउटा मार्गदर्शक ज्योति बनेको छ । हाम्रा यी साना बटुकहरूको तपस्या र यो वैदिक ध्वनिले विश्वमा शान्ति, सद्भाव र लोककल्याणको सन्देश फैलाइरहोस् । पशुपति क्षेत्रको यो पावन ऊर्जाले हामी सबैलाई आफ्नो जरासँग जोडिन प्रेरणा दिइरहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =