हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
काठमाडौँ नक्साल स्थित आम्रपाली बैंक्वेटमा बुधवार कम्पनीको सभा भएको हो ।
सभाले सञ्चालक समितिको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आ.व. २०८१/८२ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।
त्यस्तै कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको जानकारी दिएको छ ।
कम्पनीका अध्यक्ष सुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के.सी. ले स्वागत मन्तव्य र सञ्चालक आशिष् ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सेयर धनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन सेयर धनीहरूको सुझावलाई कार्यान्वयन गर्ने बताए ।








