‘अन्धभक्त बन्न सकिन’ भन्दै रास्वपाबाट बाहिरिए प्रणय शमशेर राणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै पार्टी त्यागेका छन् । उनले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

पार्टीका महामन्त्रीलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा राणाले रास्वपा आफ्नो स्थापनाकालीन मूल्य, मान्यता र मार्गचित्रबाट पूर्ण रूपमा विचलित भएको आरोप लगाएका छन् । साढे तीन वर्षको यात्रामा आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको वकालत गरे पनि नेतृत्वले त्यसलाई उपेक्षा गरेको उनको ठहर छ ।

राणाले पार्टी स्थापना गर्दा गरिएको ‘बेथितिको अन्त्य-थितिको थालनी’ को बाचा अहिले उल्टो भएर ‘थितिको अन्त्य-बेथितिको थालनी’ मा परिणत भएको कडा टिप्पणी गरेका छन् । ‘केन्द्रमा बसेका पदाधिकारी र केन्द्रीय सदस्यमध्ये अधिकांश यो बेथितिका साझेदार छन् भने अन्य अनौठो ढंगले मौन छन्,’ उनले पत्रमा उल्लेख गरेका छन् ।

राजनीतिमा सामान्य परिस्थिति मात्र नहुने भए तापनि विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दा भोलि राज्य सञ्चालनमा पुग्दा जनताले कसरी विश्वास गर्ने भन्ने प्रश्न राणाले उठाएका छन् । ‘आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =