राजकुमार शर्मा नेकपाबाट निष्कासित, प्रदेशसभा सदस्यता समेत गुम्ने !

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले शर्मालाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलका सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको छ । प्रमुख सचेतक कृष्णबहादुर जि.सी.द्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको तथा पार्टी विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल कार्य गरेको उल्लेख गरिएको छ ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासित भएपछि प्रदेशसभा सदस्य पदसमेत कायम नरहने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयसँग अनुरोध गरिएको छ ।
त्यस्तै, ऐनको दफा ३४ को उपदफा (१) बमोजिम दल त्याग गरेको सूचना समेत दिइएको जनाइएको छ ।
यसअघि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) लाई पनि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएपछि नेकपाले निष्कासन गरेको थियो । दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका कारण केसीमाथि कारबाही गरिएको थियो ।








