पुरातत्त्व विभागले भन्यो- पुरातात्त्विक महत्वका अवशेषहरूको संरक्षण गरौँ

काठमाडौँ । पुरातत्त्व विभागले पुरातात्त्विक महत्वका अवशेषहरूको संरक्षणमा ध्यान दिन आग्रह गरेको छ ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पुरातत्त्व विभागले मानव सभ्यता नै नासिने भएकाले पुरातात्त्विक महत्वका वस्तुको अवशेषहरू भेटिए तत्काल पुरातत्त्व विभागलाई जानकारी गराउन पनि सर्वसाधारणमा समेत अपिल गरेको हो ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले काठमाडौँ लगायतका पुरातात्त्विक महत्वका क्षेत्रहरूमा भेटिएमा तत्काल विभागमा जानकारी गराई मानव सभ्यतालाई नासिनबाट जोगाउने काममा सहयोग गर्न आग्रह गरिन् । उनले विकास निर्माणको काम गर्दा पनि पुरातत्त्व महत्वका वस्तुहरू भए, नभएको यकिन गरेर मात्रै अघि बढाउन पनि सचेत गराइन् ।

मानव सभ्यतालाई जोगाउन र यसको पहिचान कायमै राख्न पनि प्रमाणको रूपमा यस्ता अवशेषहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न अति आवश्यक रहेको महानिर्देशक प्रधानाङ्गको भनाई थियो ।

उनले भनिन् ‘हामी जति पनि कामहरू गर्दछौ । कतै केही भेटियो भने पुरातत्त्व विभागलाई जानकारी नै नदिई छोप्छौँ अथवा उखेलेर फाल्छौँ । हामीले के बुझ्नुपर्दछ भने मानव सभ्यता भनेको जति कन्टिन्यु हुन्छन् । बीचबीचमा कहिलेकाहीँ त्यो मासिएको पनि छ । कुनै बेला भूकम्पको कारण, कुनै बेला अन्य कुनै विपद्को कारणले त्यो सभ्यता हराउने पनि गरेको छ । जस्तो हामीले लुम्बिनीको नै कुरा गर्ने हो भने बीचमा एक पटक कपिलवस्तुमा बुद्धको निरन्तरता हरायो । तर यो भग्नावशेष भनेको कस्तो हो भने यो चाहिँ सय वर्ष, २ सय वर्षका लागि होइन, हजारौँ वर्षमा पनि यसलाई प्रमाणित गर्न आधार हुन्छ । यसले चाहिँ १० हजार वर्षको पनि हामीलाई इन्फरमेशनहरु दिइराखेको हुन्छ । मानव सभ्यता त बीच बीचमा ब्रेक हुन्छ नि त । तर यो भग्नावशेष बचाई राख्न सक्यो भने यसबाट हामीले मानव सभ्यतालाई बचाई राख्न सक्छौँ । त्यही भएर म सबैलाई के अनुरोध गर्न चाहन्छु भने–कुनैपनि हाम्रो काठमाडौँ उपत्यका, हिमाली क्षेत्र अथवा तराई क्षेत्रमा यस्ता पुरातात्त्विक महत्वका अवशेषहरू भेटियो भने अथवा कुनै त्यस्तो बस्तु भेटियो भने त्यसलाई पुरातत्त्व विभागमा जानकारी दिने र त्यसलाई बचाएर मात्रै हामीले थप विकास निर्माणको काम गर्नुपर्छ । अन्यथा हामीले विकास, निर्माणका नाममा पुरातात्त्विक संरचना के देखिन्छ र इट्टा अथवा ढुङ्गो हो भनेर उखेलेर फाल्न थाल्यो भने हाम्रो मानव सभ्यतालाई नास्दै, मास्दै हामी अगाडि बढेको हुन्छौ । त्यसले हाम्रो आइडेटिनै लोप हुन जान्छ । जसरी हामीले यो बुद्धकालिन संरचनादेखि अहिलेसम्म कन्टिन्यु गर्न खोजिराखेका छौँ । यसको हिष्ट्रीलाई कन्टिन्यू गर्न खोजिराखेका छौँ । यस्ता संरचनाहरूले हामीलाई सहयोग पुग्छ ।’

त्यस क्रममा विभागले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्नका लागि प्रमाण जुटाउने काम भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =