सत्ताको साँचो खोज्दै देश दौडाहामा शीर्ष नेता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा निस्किएका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने र भावी प्रधानमन्त्रीको दाबेदारी बलियो बनाउने रणनीतिका साथ मुख्य दलका प्रमुखहरू यतिबेला केन्द्रदेखि जिल्लाका घरदैलोसम्म पुग्न थालेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका क्रममा देशका विभिन्न भागमा सक्रिय छन् । शुक्रबार पोखरा पुगेका थापा त्यसलगत्तै कोसी र मधेश प्रदेशका कार्यक्रममा सहभागी भए ।
मंगलबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले सुशासन र भ्रष्टाचार अन्त्यको आधारसहित काम गर्ने दाबी गरे । ‘कांग्रेस बदलिएर आएको छ, हामीले बोलेका कुरा पूरा गरेका छौँ,’ उनले भने । कार्यकर्ताहरूलाई ‘कांग्रेसले देश सम्हाल्छ’ भन्ने सन्देश बोकेर जनताको घरदैलोमा जान उनको निर्देशन छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा केन्द्रित भएका छन् । शुक्रबारदेखि गृहजिल्लामै रहेका उनले मतदाताको घरदैलो गर्दै नयाँ राजनीतिक शक्तिहरूको आलोचनामा समय खर्चिएका छन् । एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का अनुसार ओली यसपटक देशका सबै प्रदेशमा पुग्ने सम्भावना कम छ । झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन साहप्रति लक्षित गर्दै भने, ‘आफ्नो क्षेत्रमा काम गर्न नसक्ने र विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेका छन् ।’
मुलुकको राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएका रास्वपाका नेता बालेन साह भने पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मको यात्रा सकेर अहिले मधेश प्रदेशमा केन्द्रित छन् । उनले मंगलबार हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजविराजमा ‘रोड सो’ गरे । यद्यपि, राजविराजमा उनी गाडीबाट नओर्ली अघि बढेपछि समर्थकहरू चकित परेका थिए ।
रास्वपा सभापति रवि लामिछानेले चितवन र नवलपरासी क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । नवलपरासीमा निर्वाचन आचारसंहिताको विषयलाई लिएर प्रशासनले चेतावनी दिए पनि लामिछानेले पूर्ववत् तालिकाअनुसार नै सभाहरूलाई सम्बोधन गरे। उनले फागुन २१ को चुनावबाट रास्वपाले बहुमतको सरकार बनाउने दाबी गरे ।
नेकपाका संयोजक पुष्पकमल दाहालले भने रास्वपाको लहरलाई ‘स्टन्ट र भ्रम’ को संज्ञा दिएका छन् । काठमाडौँका चुनावी कार्यक्रममा व्यस्त उनले सामाजिक सञ्जालमा चर्चा कमाउनेहरू यसपटक ओरालो लाग्ने दाबी गरे । ‘नयाँ ठाउँमा भ्रम दिन सजिलो हुन्छ, तर अब स्टन्टले चल्दैन,’ उनले भने । दाहालले आगामी निर्वाचनमा आफ्नो दल पहिलो बन्ने जिकिर समेत गरे ।
अन्य दलका नेताहरू पनि चुनावी मैदानमा सक्रिय छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ धरान र पूर्वी पहाडमा केन्द्रित छन् भने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मधेश प्रदेशका सभाहरूमा व्यस्त छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा लुम्बिनी प्रदेशको दौडाहामा छन् ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्रै औपचारिक चुनावी सभा र घरदैलोका लागि समय तोकेको छ । यद्यपि, नेताहरूले त्यसअघि नै विभिन्न बहानामा चुनावी गतिविधि सुरु गरिसकेका छन् । निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेकाले प्रशासनले कतिपय ठाउँमा कडाइ गरेको छ । एमाले अध्यक्ष ओली र रास्वपा नेता साहबीचको वाकयुद्ध तथा पुराना र नयाँ शक्तिबीचको टकरावले यसपटकको निर्वाचन निकै रोचक र चुनौतीपूर्ण हुने देखिएको छ ।
भावी प्रधानमन्त्रीको दौडमा रहेका नेताहरूका लागि एकातिर आफ्नो सिट जोगाउनुपर्ने दबाब छ भने अर्कोतिर देशभर पार्टीको जनमत बढाउनुपर्ने दोहोरो चिन्ता छ । नेताहरूले सातै प्रदेशमा सभा गर्ने योजना बनाए पनि समय र सुरक्षा संवेदनशीलताका कारण धेरैजसोले विशेष क्षेत्रहरूलाई मात्र प्राथमिकतामा राखेका छन् ।








