नवलपरासी कांग्रेसको एक स्वरः विनोदको जित, गगनको नेतृत्व

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीका नेताहरूले फागुन २१ गते हुने आम निर्वाचनलाई पार्टीको नीति, नेतृत्व र रुपान्तरणप्रतिको जनमतका रूपमा चित्रण गरेका छन् ।

निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल–४ को उद्घाटन कार्यक्रममा वक्ताहरूले यस क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद चौधरीको जितलाई राष्ट्रिय राजनीतिक लक्ष्यसँग जोडेर व्याख्या गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नवलपरासी जिल्ला सचिव उमेश यादवले कांग्रेस अबको सरकार र देश विकासको नेतृत्व गर्न सक्ने गरी आफूलाई रुपान्तरण गर्दै गएको बताए । उनले कांग्रेसलाई बहुमतसहित विजयी गराउनु अपरिहार्य रहेको उल्लेख गर्दै गगन थापालाई प्रधानमन्त्री बनाउन नवलपरासीबाट विनोद चौधरीको जित आवश्यक रहेको धारणा राखे ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले गगन थापाले अघि सारेको कांग्रेस रुपान्तरण अभियानमा विनोद चौधरीको महत्वपूर्ण भूमिका रहेको बताए । गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशभर सम्मानजनक र समावेशी विकास सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे ।

त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका महासमिति सदस्य राधेश्याम चौधरीले किसानले मल र बजारको अभाव, सरकारी कार्यालयमा ढिलासुस्ती जस्ता समस्या भोगिरहेको उल्लेख गरे । उनले कांग्रेसले यस्ता विषयहरूको अध्ययन गर्दै समाधानतर्फ उन्मुख भएको बताउँदै दीर्घकालीन समाधानका लागि यस क्षेत्रबाट विनोद चौधरीलाई जिताउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी नेताहरूले फागुन २१ को निर्वाचनलाई कांग्रेसको नीति, नेतृत्व र विकास एजेण्डाप्रतिको स्पष्ट जनमतका रूपमा व्याख्या गर्दै पार्टीलाई विजयी गराउन एकजुट हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =