एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन् । मङ्गलबारदेखि औपचारिक रूपमा आरम्भ भएको यो सामाजिक अभियानले विद्यालय तहका विद्यार्थीहरूलाई साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षबारे सचेत गराउने लक्ष्य लिएको छ ।

देशभरका विद्यालयहरूमा पुगेर सञ्चालन गरिने यस अभियानबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदायका सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल नमुना परियोजनाका रूपमा अघि सारिएको कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिनेछ ।

कार्यक्रमअन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तकसमेत तयार पारिएको छ । ती पुस्तक सत्र सम्पन्न भएपछि सहभागी विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयनपछि आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि अभियान विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेसः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ ।

नेपालमा एनसेल र नासा सेक्युरिटीजको संयुक्त पहलमा सुरु गरिएको एसआईटी कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित सत्रका क्रममा गरिएको थियो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र आजको डिजिटल युगमा कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे विद्यार्थीहरूसँग आफ्ना धारणा साझा गरे ।

कार्यक्रमलाई एनसेल फाउन्डेसनको सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने प्रतिबद्धतासँग जोडिएको बताइएको छ । कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलेले व्यक्तिगत डाटाको सुरक्षालाई अत्यन्त महत्वपूर्ण विषयको रूपमा उल्लेख गरे ।
“म एक अभिभावक पनि हुँ । आज इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रविधि जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग जोडिएका जोखिम बुझ्नु र त्यसका लागि तयार रहनु झन् आवश्यक भएको छ,” उनले भने, “एसआईटी कार्यक्रममार्फत विद्यार्थी र युवालाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ अघि बढ्न आवश्यक ज्ञान र सीप दिन चाहेका छौं ।”

नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल प्लेटफर्मले युवाहरूको सिकाइ, अन्तरक्रिया र निर्णय प्रक्रियामा गहिरो प्रभाव पारिरहेको उल्लेख गर्दै अनलाइन सुरक्षालाई साझा जिम्मेवारीको विषय भएको बताए ।
“डिजिटल साक्षरता र साइबर जागरण आज वित्तीय साक्षरतासरह नै महत्वपूर्ण छन्,” उनले भने, “एसआईटी अभियानमार्फत विद्यार्थीहरूलाई प्रविधिको जिम्मेवार प्रयोग, डिजिटल पदचिन्हको संरक्षण र सुरक्षित रूपमा डिजिटल संसारमा नेभिगेट गर्न व्यावहारिक ज्ञान प्रदान गर्ने हाम्रो लक्ष्य हो ।”

हालसम्म एसआईटी सत्रहरू नौ वटा विद्यालयमा सम्पन्न भइसकेका छन् । कास्कीका श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री अमरसिंह माध्यमिक विद्यालय, लिटल स्टेप सेकेन्डरी स्कुल, भास्कर मेमोरियल स्कूल, सेन्ट–मेरिज स्कूल र रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुलमा सत्र सञ्चालन गरिएको छ । यसैगरी ललितपुरका सेन्ट–मेरिज स्कूल र बानी विलास हाई स्कूल तथा भक्तपुरको आदर्श हाई स्कूलमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ ।

कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ । हालसम्म सञ्चालन गरिएका सत्रबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =