निर्वाचन: सुरक्षा चुनौती हेरेर जुनसुकै घेरामा सेना खटिन सक्ने

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले गस्ती तथा पेट्रोलिङ सुरु गरेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सेनाले महत्वपूर्ण प्रतिष्ठान, विमानस्थल तथा कारागारको सुरक्षा जिम्मेवारी सम्हाल्न थालेको हो । निर्वाचन अवधिभर नेपाली सेना तेस्रो सुरक्षा घेरामा खटिने बताइएको छ ।

सुरक्षा व्यवस्थाअनुसार पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन हुने व्यवस्था गरिएको छ ।

तर सुरक्षा आवश्यकताको आधारमा नेपाली सेना जुनसुकै घेरामा पनि खटिन सक्ने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत तथा मतदान अधिकृतसँगको समन्वयमा आवश्यकता अनुसार सेनालाई पहिलो वा दोस्रो घेरामासमेत परिचालन गर्न सकिने बताइएको छ ।

नेपाली सेनाले निर्वाचन सुरक्षासम्बन्धी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा जुनसुकै घेरामा पनि सेना खटिन सक्ने स्पष्ट गरिएको छ ।

त्यसअनुसार उच्च सुरक्षा चुनौती देखिएका स्थानहरूमा नेपाली सेनालाई सुरुदेखि नै पहिलो घेरामा खटाउने सम्भावना पनि रहेको छ ।

नेपाली सेनाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाले निर्वाचन अवधिमा शान्ति सुरक्षाका लागि सेना प्रभावकारी रूपमा परिचालन हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =