सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभूत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताएका हुन् ।

उनकाअनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरूले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उनको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताए ।

उनकाअनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अब उद्योगी व्यवसायीहरू नवीनता र सृजनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले भने ‘सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेछ । ठूलाठूला कुरा आउने गरेका छन्, ती पूरा पनि गर्नुपर्ला तर सामान्य सार्वजनिक सेवा प्रवाह सुधार गर्न नसकिरहेको अवस्था छ । जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा हेर्ने हो भने त्यहाँ लाइन हुने गरेको छ । त्यहाँ सार्वजनिक सेवा लिन लामो लाइन बस्नुपर्ने, झन्झटिलो व्यवस्थाका कारण लामोलाइन बस्नुपर्ने अवस्था छ । सरकारको त्यहाँ ध्यान पुग्न सकेको छैन । कतिपय कानुनी उल्झनहरूका कारणले पनि सरकारले काम गर्न नसकेको देखिन्छ । जसले गर्दा सार्वजनिक सेवा प्रवाह सहज नहुँदा जनतामा असन्तोष सिर्जना भइरहेको छ । व्यवसायी र राजनीति धेरै कनेक्सन हुँदा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको छ । हामीले व्यवसायमा नवीनता सिर्जना गर्न सकिरहेका छैनौँ । बढी राजनीतिक लर्बिङमार्फत व्यवसाय गर्दा मानिसमा असन्तोष चुलिएको हो । व्यवसायीहरू प्रोफेसनालिजम हुन र नवप्रवर्तनमा ध्यान दिन जरुरी छ ।’

उनले भदौ २३ र २४ बाट पाठ सिकेर सञ्चार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताए । श्रेष्ठकाअनुसार अहिले धेरै असन्तोष आउनेमा सञ्चारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =