अफगानिस्तानमा १ लाख ५८ हजार मेट्रिक टनभन्दा बढी कपास उत्पादन

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणले जारी गरेको एक विज्ञप्तिअनुसार गत वर्ष मुलुकमा १ लाख ५८ हजार मेट्रिक टनभन्दा बढी कपास उत्पादन भएको छ ।
तथ्याङ्कअनुसार सो अवधिमा अफगानिस्तानका ३४ मध्ये १७ प्रान्तका कुल १ लाख ४ हजार २ सय ३६ हेक्टर क्षेत्रफलमा कपास खेती गरिएको थियो ।
विशेषगरी हेलमान्ड, बाल्ख, कान्दाहार, जोजजान र नान्गाहार प्रान्त कपास उत्पादनका लागि अग्रणी रहेका छन् । काबुलका एक कपास व्यवसायी अब्दुल हलिमले कपास निर्यातको अवस्था निकै उत्साहजनक रहेको र यसबाट किसान र देश दुवैलाई फाइदा पुगेको बताएका छन् ।
उनले आफ्नो देशबाट कपास निर्यात हुनु गर्वको विषय भएको समेत उल्लेख गरे । कपास अफगानिस्तानको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक हो । प्राप्त विवरणअनुसार सोही अवधिमा अफगानिस्तानले १६३ मिलियन अमेरिकी डलर बराबरको कपास निर्यात गरेको छ ।








