‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ गौरव उप्रेतीलाई प्रदान

काठमाडौं । नेपाल व्यवस्थापन संघ र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा स्थापना गरिएको ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ यस वर्ष गौरव उप्रेतीलाई प्रदान गरिएको छ।
उक्त पुरस्कार नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा माघ २४ गते औपचारिक रूपमा घोषणा गरिएको हो । पुरस्कार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट प्रदान गरिएको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारीहरू सम्मिलित समितिले छनोट प्रक्रिया पूरा गरी पुरस्कार प्रदान गरेको हो । यस पुरस्कारले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने र भविष्यका व्यवस्थापकहरूलाई प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एम.बी.ए. तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौताअनुसार, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बी.ए. कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष नगद ५१ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसैबीच, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘वर्षको उत्कृष्ट बैंक २०२४ र २०२५’ उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याइसकेको छ ।
बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जि बचत खाता’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । साथै, फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर बचत खाता’ सुरु गरिएको छ । मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने व्यवस्था समेत बैंकले उपलब्ध गराएको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








