अल्का अस्पतालमा बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । अल्का अस्पतालले वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा वाथरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
आईतवारदेखि सञ्चालन भएको शिविर माघ २७ र २९ गते अस्पताल परिसरमा आयोजना गरिने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।
शिविरमा बाथरोगसँग सम्बन्धित युरिक एसिड, आरएफ (¥युमाटोइड फ्याक्टर), एन्टि–सीसीपी, ईएसआर, सीआरपी लगायतका प्रयोगशाला परीक्षण निःशुल्क गरिँदै आएको उहाँले जानकारी दिए ।
बाथरोग विशेषज्ञबाट प्रारम्भिक परीक्षणपछि सिफारिसका आधारमा आवश्यक किट टेस्टहरू निशुल्क उपलब्ध गराइने उनले बताए । उनका अनुसार वाथरोगको औषधि सेवन गरिरहेका बिरामीहरूलाई निशुल्क औषधि वितरण समेत गरिएको छ ।
यस्तै, वाथरोग विशेषज्ञ डा. श्रेया श्रेष्ठकाअनुसार वाथ रोग प्रतिरक्षा प्रणाली (ईम्युन सिस्टम) मा गडबडी हुँदा उत्पन्न हुने दीर्घकालीन रोग हो । ईम्युन सिस्टमले बाह्य संक्रमणबाट जोगाउनुपर्नेमा आफ्नै शरीरका जोर्नी, छाला र भित्री अंगहरूमा आक्रमण गर्दा बाथरोग उत्पन्न हुने उनको भनाई छ ।
वाथले जोर्नी दुख्ने, सुन्निने मात्र नभई आँखा, फोक्सो र मिर्गौलाजस्ता भित्री अंगहरूलाई समेत असर गर्नसक्ने उनले बताइन् । उनले समयमै रोग पहिचान नगरेमा जोर्नी स्थायी रूपमा बिग्रनुका साथै लुपस वाथका कारण मिर्गौला डायलसिससम्मको अवस्था आउन सक्ने उल्लेख गरिन् ।
बाथ दीर्घकालीन रोग भएकाले पहिचान भएपछि लामो समयसम्म नियमित औषधि सेवन गर्न आवश्यक रहेको उनको भनाई छ । डा श्रेष्ठले वाथ कुनै निश्चित उमेर समूहमा मात्र सीमित नहुने बताइन् ।
उनकाअनुसार नवजात शिशुदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि वाथ देखिन सक्छ । लुपस वाथ प्रायः १८–२० वर्षका युवतीमा, ढाडको बाथ ३०–४० वर्षका पुरुषमा र हड्डी खिइने वाथ वृद्ध अवस्थामा बढी देखिने उनले जानकारी दिइन् ।
उनले शिविरमा सहभागी अधिकांश बिरामीहरू पहिले नै वाथरोगको निदान भइसकेका तर नियमित फलोअप नगरेका रहेको जानकारी दिइन् ।
४०–५० वर्ष उमेर समूहका ढाडको बाथ भएका पुरुष र ३०–४० वर्ष उमेर समूहका जोर्नी दुखाइ भएका महिलाहरू उपचारका लागि बढी आएको उनले जानकारी दिइन् ।
अल्का अस्पतालले विगतदेखि नै विभिन्न रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको जनाएको छ । अस्पतालले यसपटक बाथरोगमा केन्द्रित शिविरमार्फत बिरामीलाई विशेषज्ञ सेवा तथा प्रयोगशाला परीक्षण निशुल्क प्रदान गरेको हो ।









