विकासका लागि कांग्रेसको विकल्प छैन : जितेन्द्रकुमार श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफूहरूको मुख्य शक्ति भएको स्पष्ट पारेका हुन् ।

आफ्नो सम्बोधनका क्रममा श्रेष्ठले स्थानीय तह र केन्द्र सरकार बीचको समन्वयमा विशेष जोड दिए । उनले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको निकट सहकार्यले मात्र यस क्षेत्रको विकासलाई तीव्रता दिन सकिने विश्वास व्यक्त गरे । स्थानीय जनप्रतिनिधिहरूको सफल अनुभव र आफ्नो राजनीतिक सक्रियतालाई जोडेर ललितपुरलाई एक नमूना जिल्ला बनाउने उनको प्रतिबद्धता छ । उनले विकासका आयोजनाहरूलाई पूर्णता दिन ‘टिम वर्क’ को आवश्यकता रहेको औंल्याए । पार्टीको निर्वाचन चिन्ह ‘रुख’ को दर्शनका बारेमा चर्चा गर्दै श्रेष्ठले रुख केवल एक चिन्ह मात्र नभई यो उम्मेदवारको व्यक्तित्व र पार्टीको गौरवशाली इतिहासको प्रतीक भएको बताए । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिन निर्देशन दिए ।

उनले भने, ‘विशेष गरिकन अहिले हामी चुनावी अभियानमा छौँ । मैले सबैलाई पटक पटक अनुरोध गरिसकेँ, हामीले धेरै बोल्नु भन्दा पनि यो मेरो उम्मेदवारी भन्दा पनि म त एउटा पात्र मात्र हुँ । उम्मेदवारहरू तपाईंहरू नै हुनुहुन्छ, नेपाली कांग्रेसको चुनाव चिन्ह रुख उम्मेदवार हो, सिद्धान्त बोकेको चारतारा झण्डा नेपाली कांग्रेस हो त्यसै कारणले त्यो सिद्धान्त भित्र उभिएर जो रुख चिन्ह लिएर आएको छ त्यसलाई जिताउनु कर्तव्य तपाईंहरू सबैको हो म त एउटा पात्र मात्र हुँ । त्यसै कारणले तपाईंलाई म विनम्रका साथ अनुरोध गर्छु, आभार पनि व्यक्त गर्न चाहन्छु, जितेन्द्रकुमार एउटा श्रेष्ठ पात्र मात्र हो रुख चिन्ह हाम्रो हो रुख चिन्हलाई मतदान गरेर चाहिँ जिताउनु पर्छ भन्ने प्रतिज्ञा तपाईंले जो लिनुभएको छ म असाध्यै हर्षोल्लासित भएको छु ।’

नयाँ पुस्तामा समेत रुख चिन्हको गहिरो छाप रहेको उल्लेख गरे । उनले आफ्ना नातिले समेत रुख चिन्ह सजिलै चिनेको प्रसङ्ग कोट्याउँदै कांग्रेसको विरासत नयाँ पुस्तामा हस्तान्तरण भइरहेको दाबी गरे । उनले आगामी दिनमा घर–दैलो अभियानलाई थप सशक्त बनाउन र प्रत्येक मतदाताको मन जित्न कार्यकर्ताहरूलाई विशेष आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =