गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतदाता रिझाउन भ्याइनभ्याई छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागिरहेका छन् । पटक–पटक आश्वासन मात्रै पाएका मतदाताले यसपालि एजेन्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।

काठेखोला गाउँपालिका–६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दशौँ लाखको तरकारी र फलफूल उत्पादन गरे पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए ।

कँडेलले भने, “पहिले–पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रा समस्या जहाँको त्यहीँ रहे, अहिले त किसानका काम गर्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिँड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।”

बरेङ गाउँपालिका– १ का तमबहादुर थापाले गाउँको बसाइँसराइ रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए । बसाइँसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ । गाउँमै कृषि, उद्यम गर्छु भन्ने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइँसराइ हुने गरेको थापा बताउँछन् ।

“हामी गाउँका किसानले नेताबाट ठूलो अपेक्षा राखेका छैनौँ, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइदिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो”, थापाले भने, “अघिल्लो चुनावहरूमा नेताका चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौँ, यहीँ केही गर्न चाहन्छौँ, त्यो वातावरण तयार बनाइदिने नेताको खाँचो छ ।”

बागलुङमा सबैभन्दा बढी बसाइँसराइ हुने पालिका जैमिनी हो । जैमिनीबाट हरेक वर्ष बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताए । हुने खानेहरू सबै बजार झरिसकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =