सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धि नियमावली संशोधन गरेको छ : मन्त्री चौलागाईं

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धी देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाई थियो ।
उनले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताए ।
मन्त्री चौलागाईले भने, ‘यो सरकार आईसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आईसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरू आएका छन् । यो भर्खरै भएको हुनाले मानिसहरूको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरूलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरूको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखि हाम्रा नीतिहरू थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’
मन्त्री चौलागाईंले वन्यजन्तुबाट मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न पहल गरिरहेको बताए ।








