धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँ: माधव सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिए । नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताए । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भने ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरू एउटै नभएको बताए ।

उनले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभूत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गरे ।

उनले भने ‘आज एउटा भाष्य के बनाइँदै छ भने सबै पार्टीहरू र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गर्न खोजिँदै छ । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौँ । मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँ । कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् रु यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन । सबै उस्तै हुन् र उस्तै उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको छ । पहिला पहिला रेडियो नेपालमा हात्तीछाप चप्पल र हात्ती कुन बलियो भनेर विज्ञापनमा बोलेको जस्तो कुरा हो । हात्तीछाप चप्पल र हात्ती उस्तै होइन । हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोड जोडले ठुलो स्वरले सुन्ने गरीकन भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोर भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रूपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौँ ।’

पार्टीका तर्फबाट भएका विगतका कमजोरीहरू स्वीकार गर्दै सापकोटाले जनतामाझ गएर आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले कार्यकर्तालाई प्रत्येक दिन एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया

One thought on “धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँ: माधव सापकोटा

  1. तिमीहरु त मान्छे मारेर कमाउन राजनीति गर्ने हत्यारा, अपराधी हौं।
    रास्वपा त आफ्नो जोहो गरेर देशको सेवा गर्न आउनेहरू हुन् 🇳🇵🔔🔔🔔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =