जोखिम, नियमन र डिजिटल नवप्रवर्तनमा केन्द्रित बिमा सम्मेलन काठमाडौँमा

काठमाडौँ । नेपालको बिमा क्षेत्रको भविष्यलाई जोखिम व्यवस्थापन, नियमन सुधार र डिजिटल नवप्रवर्तनमार्फत सुदृढ बनाउने उद्देश्यले उच्चस्तरीय बिमा सम्मेलन शुक्रवार (माघ २३) आयोजना भएको छ । सम्मेलनमा बिमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र अवसरमाथि गहन छलफल गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा नेपाल बिमा प्राधिकरण, जीवन तथा निर्जीवन बिमा सङ्घ, बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय विज्ञ, प्रविधि विज्ञ तथा नीति निर्माताहरूको सहभागिता रहनेछ । कार्यक्रममा आर्थिक विकासमा बिमाको भूमिका, उपभोक्ता संरक्षण, जोखिम–आधारित सुपरिवेक्षण, दिगो बिमा अभ्यास र डिजिटल रूपान्तरण प्रमुख विषय रहनेछन् ।

कार्यक्रमअन्तर्गत नियामक तथा नीतिगत सुधार, बिमा क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास, पुनरबीमा प्रणाली, जलवायु तथा आर्थिक जोखिम, इन्सुरटेक, कृत्रिम बुद्धिमत्ता र डेटा एनालिटिक्सको प्रयोगलगायत विषयमा प्यानल छलफल तथा विशेष सत्रहरू आयोजना गरिनेछ ।
सम्मेलनमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल अधिकारी, जीवन तथा निर्जीवन बिमा सङ्घका अध्यक्षहरू, विभिन्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विश्व बैङ्कका प्रतिनिधि तथा प्रविधि कम्पनीका वरिष्ठ अधिकारीहरू वक्ताका रूपमा सहभागी हुनेछन् ।

आयोजक बैङ्किङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) का अनुसार सम्मेलनले बिमा क्षेत्रमा सहकार्य विस्तार, उपभोक्ता संरक्षण सुदृढीकरण, वित्तीय समावेशिता प्रवर्द्धन तथा डिजिटल रूपमा सक्षम बिमा प्रणाली निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।








