त्रिवि पदाधिकारीको कुर्सीमा अपशब्दसहितका पर्चा

काठमाडौं । देशको जेठो र जेठो र ठूलो प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) पुनः विद्यार्थी आन्दोलनको चपेटामा परेको छ । नेकपा निकट अखिल क्रान्तिकारीले आफ्ना माग सम्बोधन नभएको भन्दै उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा पसेर उनीहरूको कुर्सीमा लाञ्छनायुक्त र अपमानजनक शब्द लेखिएका पर्चा टाँसेका हुन् ।

मानविकी संकाय अन्तर्गतका चारवटा विभागको शुल्क घटाउनुपर्ने माग राख्दै आन्दोलनरत क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालको कुर्सीमा ‘म शैक्षिक माफिया हुँ’ र ‘म सहमति कार्यान्वयन नगर्ने अपराधी हुँ’ जस्ता अमर्यादित पदावलीसहितका तस्बिर टाँसेका हुन् ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका ‘सेल्फ सस्टेन’ कार्यक्रमका रूपमा सञ्चालित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनलाई केन्द्रीय विभागमा ल्याइए पनि पूर्वसहमति अनुसार शुल्क नघटाइएको विद्यार्थीहरूको आरोप छ । अखिल क्रान्तिकारी त्रिवि समितिका अध्यक्ष दिनेश ऐरले वार्ताका लागि पटक-पटक पहल गर्दा पनि प्रशासनले वास्ता नगरेकाले बाध्य भएर ‘सांकेतिक’ विरोध गर्नुपरेको दाबी गरे । उनले सामाजिक सञ्जालमार्फत यो विरोध व्यक्ति विशेष नभई पदाधिकारीहरूको ‘कर्तव्यविहीनता’ र ‘मुल्यहीन चरित्र’ विरुद्ध भएको जिकिर गरेका छन् ।

यता, त्रिवि प्रशासनले भने विद्यार्थीका यस्ता क्रियाकलापलाई ‘उद्दण्डता’ र ‘दुर्व्यवहार’को संज्ञा दिएको छ । पदाधिकारीको कार्यकक्षमै पुगेर अपमानजनक शब्द टाँस्नुले विश्वविद्यालयमा काम गर्ने वातावरण नरहेको कर्मचारीहरूको गुनासो छ । नाम नबताउने सर्तमा एक अधिकारीले भने, ‘यो त सिधै दुर्व्यवहार हो । विद्यार्थी संगठनको डरले कर्मचारी र पदाधिकारी कार्यकक्षमा जानै डराउनुपर्ने अवस्था सृजना भएको छ ।’

केही दिनअघि मात्रै सोही समूहले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्ष बाहिरको नेमप्लेट फाल्नुका साथै तोडफोडसमेत गरेको थियो । पुस १९ गतेदेखि पदाधिकारीका कार्यकक्षमा लगाइएको ताला सर्वोच्च अदालतको आदेश र प्रहरीको सहयोगमा भर्खरै खोलिए पनि विद्यार्थीहरूको अवरोधका कारण पदाधिकारीहरू नियमित रूपमा कार्यकक्ष जान सकेका छैनन् । त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकनका लागि यसअघि नै कार्यदल गठन भइसकेको छ र माग सम्बोधनको प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =