अपडेट : बैतडी बस दुर्घटनामा १३ जन्तीको मृत्यु, बेहुला-बेहुली सकुशल

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकामा गएराति जन्ती बोकेर फर्किँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भएका छन् । पुर्चौडी नगरपालिका-७, भौनीबाट जन्ती लिएर फर्किएको ना. ख ७०७७ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बलदेव बडुका अनुसार दुर्घटनामा १३ जनाको ज्यान गएको पुष्टि भएको छ । ‘उद्धार टोली राति नै परिचालन गरिएको थियो, घाइतेहरूको अवस्था हेरेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये २५ जनाको डडेलधुरास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४ जनाको बझाङको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
विवाह सम्पन्न गरी बेहुली भित्र्याउन हिँडेको सो टोलीमा बेहुला र बेहुली भने छुट्टै गाडीमा सवार रहेकाले उनीहरू सकुशल रहेका छन् । तर, आफन्त र इष्टमित्र चढेको बस दुर्घटनामा पर्दा वैवाहिक खुसी क्षणभरमै रुवाबासीमा परिणत भएको छ ।
दुर्घटनापछि फरार रहेका बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गति वा प्राविधिक गडबडी के कारणले बस दुर्घटना भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ ।








